ओली-प्रचण्ड : एउटै विमानका दुई पालटबीच यस्तो अविश्वास !

काठमाडौं । एक समय एकअर्काका कटु आलोचक बनेका केपी शर्मा ओली र पुष्पकमल दाहाल अहिले नेकपाका अध्यक्ष छन् । उनीहरूकै भाषामा– एउटा जेटका दुई पाइलट ।
सरकारको समेत नेतृत्व गरिरहेको पार्टीका यी दुई अध्यक्षबीच हरेक दिनजसो भेटघाट हुन्छ । सरकार, पार्टी र अन्य महत्त्वपूर्ण विषयमा छलफल हुन्छ । तैपनि उनीहरूबीच विश्वासको वातावरण बन्न सकेको देखिँदैन ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको १७ महिना तथा ओलीको नेतृत्वमा सरकार गठन भएको २० महिना भइसक्दासमेत यी दुई नेताको मन र मत मिल्न नसकेकै कारण केही महत्त्वपूर्ण निर्णयमा ढिलाइ हुने गरेको छ । कहिलेकाहीँ त दैनिकजसो हुने घन्टौं लामो संवादबाट पनि निकास निस्कन नसकेको विगत छ । पार्टी एकीकरण घोषणा गर्दा तीन महिनामा सक्ने भनिएको सांगठनिक एकीकरण १७ महिना पूरा हुँदा पनि टुंगिएको छैन ।
पछिल्लोपटक मन्त्रिपरिषद् हेरफेर, सभामुख चयन, स्थायी कमिटी बैठक आह्वान, संवैधानिक आयोगहरू, सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा पदाधिकारी नियुक्तिलगायत विषयमा दुई नेताको कुरा मिलेको छैन ।
‘उहाँहरू (ओली–प्रचण्ड) दिनहुँजस्तै वन टु वन वार्तामा बस्नुहुन्छ,’ प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजगाईंले भने, ‘कहिलेकाहीँ आवश्यकताअनुसार दिनमा दुई पटकसम्म पनि बस्नुहुन्छ, छलफल गर्नुहुन्छ ।’
दुई अध्यक्षबीच गत बिहीबार पनि एकान्त वार्ता भयो । बिहान नौ बजे बालुवाटार पुगेका दाहाल दिउँसो साढे एक बजे त्यहाँबाट निस्किए । झन्डै साढे चार घण्टा लामो छलफल गरेका उनीहरूले खाना पनि सँगै खाए । शुक्रबार साँझ फेरि कुराकानी गरे । वार्ता लम्बिएपछि प्रधानमन्त्री ओलीले ६ बजे बोलाएको मन्त्रिपरिषद् बैठक सात बजे मात्रै बस्यो । गत आइतबारदेखि शनिबारसम्म ओली र दाहालबीच ६ पटक एकान्त वार्ता भयो । कात्तिक महिनाभरमा १४ पटक यस्तो वार्ता भएको छ ।
वाम विश्लेषक श्याम श्रेष्ठ सत्ता साझेदारीका विषयमा कुरा मिल्न नसक्दा ओली र दाहालबीच लामो कुराकानी हुने गरेको बताउँछन् । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?