प्रधानमन्त्री ओली शीर्ष नेतासँग सघन छलफलमा

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनलगायत विषयमा प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका शीर्ष नेतासँग सघन छलफलमा छन्। सभामुख चयन, संवैधानिक निकायमा नियुक्तिदेखि पार्टीका आगामी कार्ययोजना बनाउने चटारो पनि उत्तिकै देखिएको छ नेकपामा।

संगठनात्मक एकतामा तीन कुनातिर फर्किएका नेताहरूले एक ठाउँमा उभिने संकेत गरेका छन्। असमझदारी हटाउँदै जान अध्यक्षद्वय ओली र पुष्पकमल दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपाल एकमत देखिएका छन्। यसअघि एकलौटी निर्णय गरेको आरोप खेपेका ओलीले पछिल्ला दिनमा भने सहमतिको संस्कार बसाउन खोजेको टिप्पणी नेताहरूले गर्न थालेका छन्।

ओलीले दाहाल र नेपाललाई विश्वासमा लिन खोजेको देखिन्छ। तीन महिनायता तिक्ततापूर्ण सम्बन्धमा रहेका नेपालसँग उनले समझदारीको प्रयास थालेका छन्। ‘पार्टीभित्र असमझदारी बढाउने होइन, सबै शीर्ष नेता मिलेरै पार्टी र सरकारलाई गति दिने हो। त्यसको महसुस शीर्ष नेताहरुले गर्नुभएको छ’, ओलीनिकट स्थायी समिति सदस्य छविलाल विश्वकर्माले भने, ‘शीर्ष नेताहरू अविश्वास हटाई समझदारी जुटाउन लाग्नुभएको छ।’

नेताहरूबीच चरण–चरणमा छलफल भइरहेको छ। यस्ता छलफल एकले अर्का नेतालाई जानकारी गराएरै गरिरहेको बालुवाटार स्रोतले बतायो। अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?