काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल र भारत सरकारका बीच सीमा विवाद समाधानका सम्बन्धमा गठन गरिएको सचिव स्तरिय संयन्त्र समेतलाई अवमूल्यन हुन गई नेपाल भारत बीचको सम्बन्धमा संशय पैदा हुन गएको विषयलाई अत्यन्त गम्भीरतापूर्वक लिएको बताएको छ ।
राप्रपाको पदाधिकारी बैठक समसामयिक राजनीतिक परिस्थिति र पार्टीको सांगठनिक र विविध पक्षबारे समिक्षा गर्न अध्यक्ष थापाको निवास बुढानिलकण्ठमा बसेको बैठकले भारतले प्रकाशित राजनैतिक नक्सामा भएको त्रुटि सच्याउन र नेपालको भूभागको संरक्षण गर्नको लागि अविलम्ब कुटनैतिक पहल गर्न नेपाल सरकार समक्ष माग गरेको राप्रपाले बुधबार जारी विज्ञप्तीमा भनिएको छ ।
प्रेस विज्ञप्ति
समसामयिक राजनीतिक परिस्थिति र पार्टीको सांगठनिक र विविध पक्षबारे समिक्षा गर्न राप्रपाको पदाधिकारी बैठक आज अध्यक्ष कमल थापाको निवास बुढानिलकण्ठमा बसेको छ । बैठकले देहायका निर्णय गरेको छ ।
१. सुगौली सन्धिबाट कायम रहेको काली नदि पूर्वको नेपालको भूभाग समेतलाई समेट्ने गरि हालसालै भारतबाट एकतर्फी रुपमा राजनैतिक नक्सा प्रकाशित गरिएको र सोबाट यसअघि नेपाल र भारत सरकारका बीच सीमा विवाद समाधानका सम्बन्धमा गठन गरिएको सचिव स्तरिय संयन्त्र समेतलाई अवमूल्यन हुन गई नेपाल भारत बीचको सम्बन्धमा संशय पैदा हुन गएको विषयलाई राप्रपाले अत्यन्त गम्भीरतापूर्वक लिएको छ ।
दुई घनिष्ठ छिमेकीका बीचमा संशय पैदा हुनु र संशय कायम रहिरहनु निश्चितरूपमा दुवै देशको हितमा हुँदैन । भारतबाट प्रकाशित राजनैतिक नक्सामा भएको त्रुटि सच्याउन र नेपालको भूभागको संरक्षण गर्नको लागि अविलम्ब कुटनैतिक पहल गर्न नेपाल सरकार समक्ष राप्रपा जोडदार माग गर्दछ ।
२. अध्यक्ष कमल थापा डिसेम्बर ४ र ५ तारिखमा अमेरिकाको वासिङ्टनमा हुने International Democratic Union को अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन र पार्टीको भातृ संगठन प्रवासी नेपाली एकता समाज अमेरिकाको अधिवेशनलाई प्रमुख आतिथ्य प्रदान गर्न तथा अमेरिकाको विभिन्न स्थानमा प्रवासी नेपाली समुदायको आयोजनामा हुने विविध कार्यक्रममा सहभागी हुन आज साँझ त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ । उहाँको अनुपस्थितिमा पार्टीको दैनिक कार्य सम्पादन गर्न वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गर्नुभएको छ ।
३. प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहको उप निर्वाचनमा पार्टीको सशक्त उपस्थिति र बिजय सुनिश्चित गर्न सबै पदाधिकारीहरु र केन्द्रीय कार्य समितिका सदस्यहरु अनिवार्य रुपले निर्वाचन हुने जिल्लामा परिचालन हुन निर्देश गरेको छ ।
मोहन श्रेष्ठ
प्रचार विभाग प्रमुख, राप्रपा ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया