विभेदकारी शैक्षिक प्रणालीले नयाँ सामाजिक द्वन्द्व जन्माउँछ : डा. सञ्जीव उप्रेती

काठमाडौं । डा.सञ्जीव उप्रेतीले प्राध्यापनबाट अवकाश लिएको ३ वर्ष भयो । अवकाशपछि उनी केही फुर्सदिला भएका छन् । फुर्सदले उनको जीवनमा नयाँनयाँ रुचिहरु थपिदिएको छ । अहिले उनको रुचि चरामा छ । अन्तर्वार्ताका लागि हामी उनको घर ‘जिरो माइल’ पुग्दा टेबलमा ‘बर्ड्ज अफ नेपाल’ किताब पल्टिरहेको थियो । चरामा रुचि भएकाले आजभोलि त्यससँग सम्बन्धित हरेक पक्षको अध्ययन गरिरहेका छन् उनी ।

शालीन व्यक्तित्वका धनी सञ्जीवले साढे २ दशक समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरे । उनको पहिचान लेखन र नाट्य क्षेत्रमा पनि फैलिएको छ । हालै उनको दोस्रो उपन्यास ‘हंस’ बजारमा आएको छ भने पहिलो उपन्यास ‘घनचक्कर’ले पनि नेपाली लेखन क्षेत्रमा निकै चर्चा कमाएको थियो । त्यसपछि उनले लेखेका सिद्धान्तका कुरा र मकैको अर्कै खेती क्रमशः समालोचना र नाटक हुन् । सञ्जीवले नाटक लेखेका मात्र होइन त्यसमा अभिनय पनि गरेका छन् । यसरी विभिन्न आयाममा छरपस्ट उनको व्यक्तित्वले नयाँ रुचिहरु पहिल्याइरहन्छन् र, त्यसलाई पछ्याइरहन्छन् ।

त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजीमा स्नातकोत्तर गरेका सञ्जीव अङ्ग्रेजी विषयका गोल्ड मेडलिस्ट पनि हुन् । आफूले स्नातकोत्तर पूरा गर्नसाथ उनले त्रिभुवन विश्वविद्यालयमै स्नातकोत्तरका विद्यार्थीहरुलाई प्राध्यापन गर्न शुरु गरेको बताए । त्यसपछि अमेरिकाको स्टेट यूनिभर्सिटी अफ न्यू योर्कबाट छात्रवृत्ति पाएर दोस्रो मास्टर्स पूरा गरे । त्यसको केही समयमा फेरि पिएचडीका लागि ‘ब्राउन यूनिभर्सिटी’ बाट छात्रवृत्ति पाएपछि उनले आफ्नो डक्टरेट अध्ययन पूरा गरे र सन् २००३ मा नेपाल फर्किएर फेरि टियूमा प्राध्यापनलाई निरन्तरता दिए । सन् २०१२ मा हार्वार्ड र क्यालिफोर्नियास्थित बर्कले यूनिभर्सिटीबाट पोस्ट डकको लागि छात्रवृत्ति पाएपश्चात् उनले पुनः अमेरिका पुगेर पढाइ पूरा गरे ।

शैक्षिक क्षेत्रसँग उनको सम्बन्ध प्रशंसनीय छ । चाहने हो भने विश्वका जुनसुकै देशमा ‘सेटल’ हुन उनलाई खासै गाह्रो छैन । तर, यहीँ बसेर आफ्नो जीवन काट्न चाहान्छन् सञ्जीव । उनलाई नेपालको शैक्षिक अवस्थाले वेलावेला निकै सोचमग्न बनाउँछ । सरकारी र निजी विद्यालयबीचको असमानता, आफ्नो रुचिको विषय पढ्न नपाउने वातावरण, विषयहरुबीच नै असमानता, प्रविधि र विद्यार्थीको सम्बन्ध आदिजस्ता विषयमा उनको मस्तिष्क विचरण गरिरहन्छ ।

यस्तैयस्तै कुरा समेटेर लोकपथकर्मी प्रेरणा तिमल्सिनाले डा.सञ्जीव उप्रेतीसँग गरेको शैक्षिक बहसको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

पहिला र अहिलेको शैक्षिक क्षेत्रमा देख्नुभएको सकारात्मक र नकारात्मक पक्षहरु केकस्ता छन् ?

समय निकै परिवर्तन भएको छ । मेरो आफ्नै उदाहरण दिने हो भने पनि कक्षा ८ मा हुन्जेल लान्टिन बालेर पढ्नुपथ्र्यो, बिजुली थिएन । कक्षा ५ मा हुन्जेलसम्म हामी भूईंमै बसेर पढ्थ्यौं । शिक्षक, कोर्स बुक मात्रै थिए हाम्रा ज्ञानका स्रोत । तर, अहिले विद्यार्थीहरुलाई ज्ञान आर्जन गर्न निकै सहज छ । इन्टरनेट ओपन लाइब्रेरी बनेको छ । पठनपाठनका स्रोत र सामाग्रीहरु सर्वत्र उपलब्ध छन् । यो सबै परिवर्तन प्रविधिको विकासले गर्दा सम्भव भएको हो । तर, विद्यालय, शिक्षक र विद्यार्थीहरुले प्रविधिको प्रयोग कसरी गर्छन् भन्ने कुराले पनि शैक्षिक गुणस्तरको निर्धारण गर्छ । यसको गलत प्रयोगले उनीहरु ‘मिसलिड’ पनि हुनसक्छन् ।

(यत्तिकैमा सञ्जीव आफूले सुनेको एउटा प्रसंग जोड्छन् ।)

मेरा केही साथीहरु पश्चिमपहाडको भ्रमणमा जाँदा देखेको त्यहाँको अवस्थाको बारेमा मलाई सुनाउनुभयो । अधिकांश बुबाआमा पैसा कमाउन विदेश लाग्ने रहेछन् र छोराछोरीलाई हजुरआमा, हजुरबुबासँग छोड्ने रहेछन् । अब त्यो नातिनातिनी र हजुरबुबा, हजुरआमाबीचमा कति धेरै दूरी हुन्छ । एकआपसमा कुरा सेयर गर्ने त सवालै पैदा भएन । फेरि विदेशमा भएका बाबुआमाले उनीहरुलाई मोबाइल फोन पठाइदिएका रहेछन् । अधिकांशका हातमा स्मार्ट फोन थियो रे । कोही त आइफोन बोकेर घाँस काट्न पनि गइरहेका थिए रे । एकजना बालक चाहिँ भविष्यमा के बन्छौ भन्दा ‘रकेट साइन्टिस्ट’ बताउँछ । उसले प्रविधिको प्रयोग गरेर रकेट साइन्टिस्ट बन्ने सपना त देख्यो तर, त्यसलाई पूरा गर्नसक्ने अवस्था भने छैन । यो ठूलो कन्ट्राडिक्सन हो ।

नेपालको शिक्षा क्षेत्रमा अहिलेको मुख्य समस्या के हो जस्तो लाग्छ ?

मलाई सरकारी र प्राइभेट स्कुलबीचको दूरीले निकै सोचमग्न बनाएको छ । हामी पढ्दा प्राइभेट स्कुल नै थिएन । एउटा निश्चित वर्गको व्यक्ति यो स्कुलमा पढ्ने र अर्को वर्गको व्यक्ति भिन्न स्कुलमा पढ्ने भन्ने मान्यता थिएन । सबैजना सरकारी स्कुलमै पढ्थ्यौं । त्यसैले सबै समान थियौं ।

तर, अहिले प्राइभेट स्कुलको सङ्ख्या धेरै छ र सुविधा, गुणस्तरको आधारमा सरकारी स्कुलहरु कमजोर हुँदै गएका छन् । आजभोलि त कस्तो कन्सेप्ट छ भने धनी, हुनेखानेको छोराछोरी प्राइभेट स्कुल पढ्ने र गरिबका छोराछोरी सरकारी स्कुल पढ्ने । यसो हुँदा वर्गीय विभेदको शुरुवात स्कुलदेखि नै भइरहेको जस्तो देखिन्छ ।

मैले टियूमा पढाउँदै गर्दा सरकारी र प्राइभेट स्कुलबाट आएका विद्यार्थीहरुबीच निकै ठूलो खाडल देखेँे । मास्टर्स डिग्री गर्दै गरेका शिक्षित वर्गमा समेत यसको प्रभाव देखिन्थ्यो । सरकारी स्कुलबाट आएका विद्यार्थीहरु विषय अङ्ग्रेजी भएपनि नेपालीमा व्याख्या गर्न भन्थे, नोटहरु माग्थे । यता अङ्ग्रेजी स्कुलमा पढेर आएका विद्यार्थीहरुको प्रस्तुति तुलनात्मक रुपमा राम्रो हुन्थ्यो, परीक्षमा उनीहरु राम्रो अंक ल्याउँथे ।

यसो हुँदा सरकारी स्कुलबाट आएका विद्यार्थीहरुलाई अन्याय भएजस्तो लाग्थ्यो । उनीहरुले शुरुवात देखि नै अङ्ग्रेजीमा राम्रो ज्ञान हासिल गर्ने मौका पाएनन् भने कसरी मास्टर्स लेभलमा अरुसँग प्रतिस्पर्धा गर्न सक्छन् त ! विद्यार्थीलाई उसको भित्री ज्ञानको आधारमा मूल्याङ्कन गर्ने कि उसले प्राप्त गरेको संरचनागत लाभांसको आधारमा विकास गरेको ज्ञानलाई ? यो जटिल प्रश्न बनेको छ ।

जुन संस्थाले विभेद नगर्न सिकाउनुपर्ने त्यसैमा विभेद हुनुलाई के भन्नुहुन्छ यहाँ ?

हो, विद्यालय भनेको एउटा व्यक्तिको पहिलो औपचारिक ज्ञानको स्रोत हो । तर, जहाँ विभाजन र विभेद जस्ता पक्षको विरुद्ध सिकाउनुपर्ने हो त्यहीँबाट विभेदको शिलन्यास हुन्छ भने त्यो समाज ‘हिपोक्रिसी’को बाटोमा जाँदै छ भन्ने बुझ्नुपर्दछ ।
एकातर्फ मान्छेहरु शिक्षाकै कारण आफ्नो अधिकारको विषयमा सचेत हुँदै गइरहेका हुन्छन् भने अर्कोतर्फ त्यही शैक्षिक प्रणाली ‘विभेदकारी’ भइदिँदा समाजमा नयाँ किसिमको सामाजिक द्वन्द्वको विकास हुने सम्भावना हुन्छ ।

विद्यार्थीहरुको प्रवृत्तिमा पहिला र अहिले कस्तो भिन्नता ?

पहिलेका विद्यार्थीहरुका निमित्त मनोरञ्जनको माध्यम भनेकै किताब हुन्थ्यो । उनीहरु अध्ययनशील थिए । अहिले प्रविधिले बढी ‘डिस्ट्राक्सन’ ल्याइदिएकाले विद्यार्थीहरु अलि कम अध्ययनशील भएका हुन् कि जस्तो लाग्छ ।

मानविकी विषयलाई अन्य विषयजस्तो सम्मान नगर्नुको कारण के होला ?

मान्छेको व्यवहार, प्रवृत्ति, ज्ञानको स्तर वा अन्तर्निहीत गुण भन्दा पनि उसले ‘हासिल’ गरेका कुरा, उसको सम्पत्ति, जीवनशैली आदिलाई आधार मानेर उसको मूल्याङ्कन गरिन्छ आजभोलि । मानविकी विषयले मान्छेलाई भौतिक रुपमा भन्दा पनि गुणात्मक रुपमा सवल र सम्पन्न बनाइरहेको हुन्छ । अन्य पेशामा जस्तो छिटो र धेरै धन आर्जन गर्न नमिल्ने भएकाले पनि यो विषय पढेर भविष्यमा आफ्ना इच्छा, आकाङ्क्षाको परिपूर्ति गर्न सकिँदैन भनेर हो कि !

फेरि, आफूले पढेको विषयले भविष्यमा कस्तो अवसरहरु सिर्जना गरिदिन्छ भन्ने कुरा पनि हो । मानविकी पढेका विद्यार्थीहरुका निमित्त यहाँ अवसरहरु पनि कम छन् त्यसैले यस विषयप्रति अलि नकारात्मक विचारको विकास भएको हुनसक्छ ।

शिक्षा ‘इच्छा’ भन्दा पनि ‘जिम्मेवारी’जस्तो किन भएको नेपालमा ?

पढाइको सिलसिलामा म केही वर्ष अमेरिका बसें र घुमफिर गर्ने क्रममा या कुनै कार्यक्रममा भाग लिने क्रममा अन्य देश पनि पुगेको छु । त्यहाँ यति कक्षासम्म पढ्नैपर्छ भन्ने किसिमको प्रेसर दिइँदैन । सामान्यतया सबैले हाइ स्कुल पढ्छन् र कति त हाइ स्कुल ड्रप आउट पनि हुन्छन् । तर, पढाइबाट केही समय ब्रेक लिएर उनीहरु ‘एक्सप्लोर’ गर्छन् । अध्ययन गर्छन्, काम पनि गर्छन् । पछि पढ्न मन लाग्यो भने फेरि पढाइलाई निरन्तरता दिन्छन् । आफूले पहिला पढ्दै गरेको स्ट्रिम बदलेर अर्को विषय पनि अध्ययन गर्छन् । विषय बदल्न खासै गाह्रो हुँदैन त्यहाँ ।

तर, यहाँ त आफ्नो प्रतिभा के हो, सपना के हो भन्ने नबुझी नै व्यक्तिको जीवन जान्छ । आफ्नो जीवनको स्टेरिङ अरुको हातमा हुन्छ ‘तिमी यो पढ, यो गर’ जस्ता निर्देशनमा जीवन चल्छ ।
यदि कसैले आफूले पढ्दै गरेको विषयभन्दा अन्य विषयमा आफूलाई रुचि भएको थाहा पायो र स्ट्रिम बदल्न चाह्यो भनेपनि त्यसो गर्न गाह्रो छ हाम्रो देशमा ।

मान्छेका रुचिहरु परिवर्तनशील छन् । समयसँगै बदलिन्छन् । उसले आफूलाई जीवनभर ‘एक्सप्लोर’ गर्न पाउनुपर्छ । त्यसो गर्न नपाएकाले होला हाम्रो देशमा पढाइलाई बोझका रुपमा लिइएको ।

आफ्नो सपनालाई पछ्याउनु भनेको ‘क्रान्ति’ गर्नु जतिकै हो नेपालमा । त्यो क्रान्ति यहाँले पनि गर्नुभयो । सजिलो छ हाम्रो देशमा सपना पछ्याउन ?

सपनाको पछि दौडनुपर्छ म मान्छु तर, यसमा धेरै किसिमका संरचनागत लाभांसहरु छन् जसले धेरैजनालाई त्यो यात्रा गर्न दिँदैनन् र कतिका लागि चाहिँ यात्रा अझै सजिलो बनाइदिन्छन्, जस्तै : आर्थिक पक्ष, सामाजिक पक्षहरु ।
म शिक्षित मध्यम स्तरीय परिवारको हुँ । एक्लो सन्तान त्यसमा पनि छोरा । यस्ता विविध पक्षले मलाई आफ्नो सपना पूरा गर्न सहयोग पु-याए । बुबा डाक्टर हुनुहुन्थ्यो । मैले प्लस टुपछि विज्ञान छाडेर साहित्य पढ्छुभन्दा घरबाट कुनै समस्या भएन । तर, यदि म छोरी हुन्थे या त निम्न आयस्रोत भएको परिवारमा जन्मिएको हुन्थे या अशिक्षित परिवारमा जन्मिएको हुन्थे त मलाई अहिलेको ‘सञ्जीव’बन्न धेरै गाह्रो हुन्थ्यो ।

नेपालमा अझै पनि युवाहरुले सपना देख्नुअघि आफ्नो हैसियत नियाल्नुपर्ने अवस्था छ । यहीकारणले ‘उत्कृष्ट’ चित्रकार बन्न सक्ने व्यक्ति ‘ठिकठाक’ डाक्टर बनिरहेको हुन्छ ।

तर, यस्तै अवस्थाबाट पनि यदि कोही आफ्नो सपना पूरा गर्ने सामथ्र्य राख्छ, लक्ष्य पूरा गर्छ भने उसलाई म सलाम गर्छु । यदि म उसको ठाउँमा भएको भए सक्दिन थिएँ होला ।

शिक्षा क्षेत्रलाई माथि उठाउन सबैभन्दा शुरुमा के गर्न आवश्यक छ जस्तो लाग्छ ?

मैले भनिहालें अहिले मलाई एकदमै चिन्तित बनाएको विषय भनेको सरकारी र प्राइभेट स्कुलहरुबीचको असमानता हो । सबैभन्दा शुरुमा सरकारी स्कुलको ‘स्टान्डर्ड’ बढाउनुपर्छ । अन्य क्षेत्रमा त छँदैछ तर कम्तीमा शिक्षा क्षेत्रमा चाहिँ असमानता हुनुभएन । प्राइभेट र सरकारी स्कुलबीच धेरै नै दूरी भयो । त्यसको अन्त्य हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?