जनसङ्ख्या घटाउने जापानी नीति उसैलाई भारी : ‘अकिया’ कुरिरहेछन् तन्नेरीहरु

काठमाडौं । जनसङ्ख्या ओरालो लाग्नु अहिले विश्वका धेरै राष्ट्रहरुको समस्या बनेको छ । यस समस्याले सबैभन्दा धेरै गाँजेको छ जापानलाई । २० औं शताब्दीभरि अधिकतम जनसङ्ख्या वृद्धि भएको जापानको जनसङ्ख्या वृद्धिदर २१ ऋौं शताब्दीमा आएर एकाएक ठप्प भएको छ । जबदेखि जापानले जनसङ्ख्याको तथ्याङ्क संकलन गर्न थाल्यो त्योवेला देखिको इतिहासलाई हेर्ने हो भने सन् २०१८ मा जापानमा अहिलेसम्मकै सबैभन्दा कम बच्चाको जन्म भएको देखिन्छ । त्यहाँको जन्मदरलाई मृत्युदरले उछिनेको छ ।

जनसङ्ख्या घटेसँगै घर वा बस्ने ठाउँको माग घट्नु स्वभाविक हो । एकतर्फ जापानमा घरहरु निर्माण हुन कम भएको छ भने अर्कोतर्फ भएका घरहरु पनि एक्लिन थालेका छन् । घरधनीको मृत्यु भएपछि त्यसलाई स्याहारसुसार गर्ने कामदार या त घरको जिम्मेवारी लिने ‘हकवाला’ले दावी नगरेपछि यहाँका अधिकांश घरहरु आजभोलि उजाड, निर्जन छन् । त्यस्ता एक्ला घरलाई ‘अकिया’नाम दिइएको छ ।
सन् २०१८ मा मात्रै जापानको व्यक्तिगत सम्पत्तिको १३.६ प्रतिशत ‘अकिया’का रुपमा दर्ता भएको छ । जापानमा एउटाभन्दा बढी घर भएमा कर लगाइने कानून भएकाले पनि सन्तान र आफ्नाआफन्तले घरधनीको मृत्यु भएपछि उक्त घर नस्वीकारेको अनुमान त छँदै छ तर, स्वीकार्नलाई यहाँ पर्याप्त जनसङ्ख्या पनि छैन ।

यहाँको कूल जनसङ्ख्याको २० प्रतिशत ७० वर्ष वा त्यसभन्दा बढी उमेरका नागरिक छन् । जसले गर्दा यहाँ बस्नलाई घरहरु त टन्नै छन् तर, बस्ने मान्छेको अभाव छ ।

अकिया बैंकमा दर्ता भएअनुसार अकियाका रुपमा छुट्याइएका अधिकांश जमिन शहरभन्दा बाहिरका क्षेत्रहरु छन् । प्राय युवाहरु पढाइ र कामको सिलसिलामा गाउँबाट शहर बसाइ सर्ने भएकाले पनि यसो भएको हुनसक्छ । यो समस्या जापानको मात्र नभएर संसारका अधिकांश देशहरुको हो । अवसरको खोजीमा मान्छेहरु शहर पसेपछि गाउँ एक्लिएको छ र शहर बाक्लिएको छ ।
घरजग्गाको माग आफैमा निकै कम हुने यस्तो दुर्गम क्षेत्रमा जग्गा दलालहरुले समेत यस्ता त्यागिएका घरहरु लिन मान्दैनन् किनकी त्यसबाट चाहेजति भाडा उठ्दैन ।

दिनानुदिन यस्ता घरजग्गाको दर्ता सङ्ख्यामा वृद्धि भइरहेतापनि जापान सरकारले यसलाई नवीकरण गर्ने वा भत्काउने विषयमा ठोस निर्णय लिन सकेको छैन । स्थानीय निकायहरु भने प्राकृतिक प्रकोपका वेला यी घरहरु घाँडो बन्न सक्छन् भन्ने निचोडमा पुगेका छन् ।
प्राकृतिक प्रकोपको हिसाबले संसारकै असुरक्षित राष्ट्रमध्येको एक जापानमा सुनामी वा भूकम्पका वेला यस्ता घरहरु भत्किने र अरुलाई थिच्ने खतरा छ । फेरि सबै घरहरु प्राय पुराना शैलीमा निर्माण भएकाले यिनीहरुको निर्माण गर्दा भूकम्प प्रतिरोधात्मक विधि अपनाइएको छैन ।

टोक्यो प्रान्तको उत्तर पश्चिममा अवस्थित पहाडी शहर ओकुतामामा ‘अकिया’ घाँडो बन्दै गएको छ । राजधानीबाट २ घण्टाको दूरीमा रहेको यस शहरमा ‘अकिया’ लाई भाडामा लिने परिवारलाई निकै सुविधा प्रदान गरिएको छ । घरवापत उनीहरुले १५ वर्षसम्म निकै कम शुल्क तिर्नुपर्ने हुन्छ जुन १५ वर्षपछि उनीहरुलाई फिर्ता गरिन्छ र त्यो घरसमेत उनीहरुकै नाममा दर्ता गरिइन्छ । यस सँगसँगै अन्य विभिन्न किसिमका स्किमहरु राखिएतापनि यसले त्यहाँका मान्छेहरुलाई लोभ्याउन सकेको छैन ।

अकिया अर्थात् एक्लिएका घरहरुको टुङ्गो लगाउने काम अब स्थानीय निकायकै पहलकदमीमा सम्भव भएको बताउँछन् तोयो विश्वविद्यालयका प्रोफेसर डा.ची नोजावा । ‘नयाँ पुस्ताको सङ्ख्या बढाउने कुरामा पनि सचेत हुन जरुरी छ,’ उनी भन्छन्, ‘किनकी यसरी नै जनसङ्ख्या घट्दै जाने हो भने सिङ्गो जापान एकदिन सुनसान हुने छ ।’

(एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?