काठमाडौं । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका सांसद मोहम्मद आफताब आलमविरुद्ध प्रहरीले थप दुई कसुरमा रायसहितको अनुसन्धान प्रतिवेदन तयार पारेको छ । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी गरी तीनवटा मुद्दामा अनुसन्धान गरी प्रहरीले शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन पेस गर्न लागेको हो ।
पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन पूर्वमन्त्री शेख इद्रिसको गोठमा बम विस्फोट हुँदा सरुअठाका ओसी अख्तर र त्रिलोकप्रताप सिंह घाइते भएको र दुवैलाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा गत असोज २६ गते कांग्रेस नेता एवं पूर्वमन्त्री आलम पक्राउ परेका हुन् । उनी प्रहरी हिरासतमा छन् । उनीविरुद्ध प्रहरीले सर्लाही घर भएका ५९ वर्षीय सफी अहमदलाई विस्फोटमा पारी ज्यानै लिने उद्देश्यको कसुर गरेको र विस्फोटक पदार्थसम्बन्धी मुद्दा तयार पारेको छ ।
जिल्ला प्रहरीका डीएसपी नवीन कार्कीले आलममाथि कर्तव्य ज्यानका अलावा ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थको मुद्दा चलाउन लागिएको बताए । ‘सबै कसुरउपर अनुसन्धान सकेर सजाय मागदाबीसहित सरकारी वकिलको कार्यालयमा मिसिल बुझाउन लागेका छौं,’ उनले भने, ‘विस्फोटमा परी मृत्यु भएका परिवारजन, घाइते, प्रत्यक्षदर्शीलगायतसँग सोधपुछ गर्ने काम सकिएको छ ।’
मुद्दाको प्रतिवेदन शुक्रबार सरकारी वकिलको कार्यालयमा बुझाइए पनि शनिबार बिदा हुने भएकाले आइतबारबाट थुनछेक बहस सुरु हुने जनाइएको छ । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया