फलामेसाँघुमा पन्ध्र शैयाको अस्पताल बन्ने

काठमाडौं। रोशी गाउँपालिका–१ फलामेसाँघुमा १५ शैयाको अस्पताल बन्ने भएको छ । आइतबार बसेको रोशी गाउँकार्यपालिकाको ३८औँ बैठकले संविधानले व्यवस्था गरेअनुसारको गाउँपालिकाभित्र १५ शैयाको अस्पताल निर्माण गर्न पाउने कुरालाई कार्यान्वयन गर्दै नागरिकलाई नजिकबाट सेवा प्रदान गर्न पाउने गरी सो निर्णय गरेको हो ।

“गाउँपालिकाको दुर्गम र विकट क्षेत्रका जनतालाई स्वास्थ्य सेवा पु-याउने उद्देश्यका साथ गाउँकार्यपालिकाको बैठकबाट गाउँपालिकाको वडा नं १ खहरेपाँगुको फलामेसाँघुमा १५ श्ययाको अस्पताल निर्माण गर्ने निर्णय गरेका हौँ ।” गाउँपालिका अध्यक्ष दलबहादुर लामाले भन्नुभयो ।

निर्णयसँगै अब अस्पताल निर्माणको लागि आर्थिक प्रक्रियाको बाटोसमेत खुलेको अध्यक्ष लामाले बताउनुभयो । त्यसका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा निर्माणकार्य अगाडि बढाउने विषयमा सम्बन्धित निकायसँग छिट्टै छलफल थाल्ने उहाँको भनाइ छ ।

सो निर्णय भएसँगै छिमेकी वडा नं ३ का वडाध्यक्ष धनजीत लामाले निर्णय निकै स्वागतयोग्य भएको बताउनुभयो । अब निर्णयसँगै निर्माण प्रक्रियालाई छिट्टै अगाडि बढाउन उहाँले आग्रहसमेत गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?