कम्युनिष्टहरु एकै ठाउँमा आउनुपर्छ : मन्त्री यादव

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले मुलुकको विकासका लागि नेपालका सबै कम्युनिष्ट शक्तिहरु एकै ठाउँमा आउनुपर्ने बताउनुभएको छ ।

सिरहाको कर्जन्हामा आज सामुदायिक रेडियो गङ्गाजलको उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री यादवले एउटा कम्युनिष्ट पार्टी सरकार बनाउने र अर्काे कम्युनिष्ट पार्टीले कालो झण्डा देखाएर विरोध गर्नुपर्ने अवस्थाको अन्त्य गरी मुलुकको विकास र समृद्धिका लागि एउटै ठाउँमा आउनुपर्ने बताउनुभयो । देशको विकासमा समय खर्च गर्नुपर्नेमा विरोध र विवादमा समय खर्चिदा विकासमा बाधा पुगेको उहाँको भनाइ थियो ।

सरकारले मुलुकलाई समृद्ध बनाउने गरी काम गरिरहेको भन्दै मन्त्री यादवले जनताको जीत हुने गरी स्थानीय तहले काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा कर्जन्हा नगरपालिकाका प्रमुख गङ्गा पासवानको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्यद्वय जगतप्रसाद यादव र प्रमोद यादव, पूर्वमन्त्री महेन्द्र पासमान, पूर्वसांसद रामकुमार पासमान, मिर्चैया नगरपालिकाका प्रमुख श्रवण यादवलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?