एनआरएनएको चुनावी भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन आज काठमाडौंस्थित हायात होटलमा हुँदैछ । संघको नवौं अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि १२ पदमा ४२ पदाधिकारी निर्वाचित हुनेछन् । ४९ देशबाट आएका करिब २५ सय प्रतिनिधिहरुले आज साँझ ५ बजेदेखि राति १० बजेसम्म विद्युतीय माध्यबाट मतदान गर्ने छन् । निर्वाचनको नतिजा आज रातिसम्म प्रकाशित भइसक्ने बताइएको छ ।
अध्यक्ष पदका लागि संघका वर्तमान उपाध्यक्ष कुल आचार्य र कुमार पन्त आआफ्ना प्यानलसहित भिड्दैछन् । प्रजातान्त्रिक विचारधाराका कुल आचार्य र उहाँको समूहलाई कांग्रेस निकट मानिन्छ भने कुमार पन्त प्यानललाई नेकपा निकटका रुपमा चिनिँदै आएको छ । यस भिडन्तमा राजनीतिक ध्रुवीकरणको गन्ध मिसिएको भन्दै केही प्रतिनिधिहरुले आलोचना समेत गरिरहेका छन् । राजनीतिक हस्तक्षेप बढेको बताउँदै संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले सम्मेलन बहिष्कार समेत गरेका थिए ।

‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मूल नारासहित गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं अन्तर्राष्ट्रिय महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन यही असोज २८ गतेदेखि शुरु भएको हो । सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको थियो । नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा शुरु भएको सम्मेलनको हरेक २ वर्षमा महाधिवेशन गर्नुपर्ने प्रावधानअनुसार भएको हो ।

विभिन्न पेसा–व्यवसायको सिलसिलामा करिब ८० लाख नेपाली देश बाहिर रहेको अनुमान छ । एनआरएनएमा विश्वका विभिन्न देशमा पुगेका यिनै नेपालीहरु संगठित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?