इक्वेडरमा सरकार र प्रदर्शनकारीबीच विरोध प्रदर्शन रोक्न सहमति

एजेन्सी । इक्वेडरका राष्ट्रपति र आदिवासी नेताहरुबीच विगत १२ दिनदेखि जारी देशव्यापी विरोध प्रदर्शन तत्काल रोक्न आइतबार सम्झौता भएको छ ।

राष्ट्रपति लेनिन मोरेनोले विरोध प्रदर्शनको नेतृत्व गरिरहेको आदिवासी समुदायको छाता संस्था कोनाका नेता जेमी भार्गससँग राजधानी क्विटोमै करिब चार घण्टा वार्ता गर्नुभएको थियो । टेलिभिजनहरुले उक्त वार्ताको प्रत्यक्ष प्रशारण गरेका थिए ।

वार्तापछि जारी संयुक्त वक्तव्यमा तेलमा दिइएको अनुदान तत्काल पुनः शुरु गर्ने तथा इक्वेडरमा जारी विरोध प्रदर्शन रोक्ने सहमति भएको छ ।

राष्ट्रपति मोरेनोले इन्धनमा दिइआएको अनुदान कटौती गर्ने घोषणा गरेसँगै देशव्यापी प्रदर्शन शुरु भएको थियो । इक्वेडरले अन्तरराष्ट्रिय मुद्रा कोषबाट करिब चार अर्ब २० करोड अमेरिकी डलर ऋण प्राप्त गर्न सम्झौता गरेसँगै तेलमा दिइएको अनुदान कटौती गरेको थियो ।

सरकारले इन्धनमा दिइरहेको अनुदान कटौती गरेसँगै इन्धनको मूल्य दोब्बर वृद्धि भएको थियो ।

राष्ट्रपति मोरेनोले हिंसात्मक भीडन्त व्यापक बन्दै गएपछि राजधानीमा कफ्र्यु लगाउनुका साथै सेना परिचालनको आदेश दिनुभएको थियो ।

स्थानीय सुरक्षा अधिकारीका अनुसार विरोध प्रदर्शनका क्रममा सात जनाको मृत्यु भएको छ भने झण्डै दुई हजार मानिसलाई गिरफ्तार गरिएको थियो । प्रदर्शनकारीले टेलिभिजन स्टेशन र अखबारको कार्यालयमा आक्रमण गर्नुका साथै महालेखा परीक्षकको कार्यालयमा आगजनी गरेका थिए ।

इक्वेडरका आदिवासी समूहको जनसंख्या करिब एक करोड ७३ लाख छ । अमेजन र एन्डिसका अवसरविहीन समुदायका हजारौँ मानिस क्विटोमा विरोध प्रदर्शनका लागि भेला भएका थिए । उनीहरुले इन्धनमा दिइरहेको अनुदान पुनः उपलब्ध गराउन माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?