आमाबुबाको व्यस्तताले ‘आत्महत्या’ गर्न बाध्य बनाउँछ छोराछोरीलाई

‘फेसबुकलाई भन्दा छोराछोरीलाई समय दिऔं’

काठमाडौं । दश वर्षीया अमन लामा (नाम परिवर्तन) बेलाबेलामा भन्ने गर्छन्, ‘आत्महत्या गर्छु ।’

चितवन निवासी अमनले कुनै चलचित्रको संवादबाट प्रभावित भएर यसो भनेका पक्कै होइनन् । प्रभावित त उनी आफ्नै जीवनबाट भएका हुन् ।

अमनका बुबा व्यापारी हुन्, आमा सहकारीकी संस्थापक । दुवैजना प्रायः काममा व्यस्त हुने भएकाले सानैदेखि अमन घरमा काम गर्ने मान्छेको भरमा हुर्किए । उनका परिवारले मोबाइल फोन दिएका छन् तर समय दिन सकेका छैनन् । त्यसैले उनी दिनभर त्यही फोन चलाउनमै व्यस्त हुन्छन् ।

फोनले उनलाई रोगी बनाउँदै लगेको छ ।

अदृश्य रुपमा उनको मस्तिष्कमा यी कुराहरुले प्रभाव पारिरहेको छ भनेर तब मात्र प्रष्ट भयो, जब उनको व्यवहारमा अप्रत्यासित परिवर्तनहरु देखा पर्न थाले । आमाबुबाको व्यस्तताले उनमा यति गहिरो असर पारेको छ कि उनी डाइरेक्ट भन्छन् ‘म मर्छु, बाँच्न मन छैन ।’

अमन आत्महत्या गर्ने कुरा गर्छन् । उनको कलिलो मस्तिष्कले मर्ने योजना बुनिरहेको छ । यस्तो अनौठो व्यवहार देखेर अमनका आमाबुबाले उनलाई मनोविश्लेषक कहाँ पु-याए । अहिले चिकित्सकले उनको उपचार गरिरहेका छन् । अमनका मनोविश्लेषक वासु आचार्य भन्छन् ‘अहिले उनको स्थितिमा सुधार आएको छ ।

अमन यस समाजका एक प्रतिनिधि पात्र मात्र हुन् । कामको व्यस्तताका कारण आमाबाबुले आफ्ना छोराछोरीसँग पर्याप्त समय बिताउन नपाएकै कारण अमनजस्ता कैयन् बालबालिका मानसिक रुपमा प्रभावित छन् आजभोलि ।

आफ्ना छोराछोरीका इच्छा, आकांक्षा, रुचि, सपनाहरुबाट बा–आमा अनभिज्ञ छन् । उनीहरुको दैनिकी सुन्ने र कथा सुनाउने फुर्सद छैन आमाबाबुलाई । त्यसैले मनोविश्लेषक भन्छन्, ‘अधिकांश बालबालिकाहरु दुःख, सुखका कुरा आफ्ना आमाबाबुलाई सुनाउन नपाउँदा भित्रभित्रै गुम्सिएर डिप्रेसनको शिकार हुन पुग्छन् ।’

मनोविश्लेषकको सुझावः छोराछोरीलाई समय दिऔं

नेपाली समाजमा पनि संयुक्त परिवार दुर्लभ बन्दै गएको छ । मान्छेहरु एकल परिवारमै बस्न रुचाउँछन् । एकल परिवार त्यसमा पनि आमाबाबु दुवैजना काम गर्ने भएपछि छोराछोरीले आमाबुबासँग पर्याप्त समय बिताउन पाउँदैनन् । जसकारण उनीहरुलाई सधै अभिभावकत्वको अभाव महसुस भइरहन्छ ।

यस विषयमा मनोविश्लेषक वासु आचार्य भन्छन्, ‘हो, अहिलेको जमानामा सुखी जीवन बिताउनलाई दुवैजना काम गर्नैपर्ने हुन्छ, तर जसलाई सुखी जीवन दिन चाहेको हो, उसलाई नै झन् दुखी बनाइँदैछ भने त्यो व्यस्तताको के अर्थ ?’

उनका अनुसार कामबाट घर फर्किएपछि अभिभावकले आफ्नो समय फेसबूक, इन्स्टाग्राम, टिभी वा साथीभाइसँग मोजमस्तीमा मात्रै खेर फाल्नु सरासर गलत हो । त्यो समयलाई बरु छोराछोरीलाई माया, केयर र सर्पोट गर्छु भन्ने विश्वास दिलाउनमा खर्चिनुपर्छ ।

उनका अनुसार बच्चासँग खेल्ने र खेल्न सिकाउने समय छुट्याउनुपर्छ । कम्प्युटर, मोबाइल बाहिर पनि दुनियाँ छ भन्ने बुझाउनुपर्छ । दिन कसरी बित्यो भनेर सोध्ने ग–यो भने पनि बच्चाले चाहिने कामलाई बढी ‘फोकस’ गर्न सक्छन् । ‘घरका सामान्य कामहरुमा सरिक गराउने, विदामा बााहिर घुम्न लग्ने, कहिलेकाहीँ उनीहरुसँग टिभी पनि सँगै हेरिदिने ग–यो भने बालबालिकालाई अपनत्वको महसुस दिलाउन सकिन्छ ,’ आचार्य भन्छन् ।

अभिभावकको उचित ‘एक्सन’ ले बालबालिकामा सोही अनुसारको ‘रियाक्सन’ गर्ने उनको भनाइ छ । आचार्य भन्छन्, ‘आखिर छोराछोरीले आमाबुबाको ‘भनाइ’बाट भन्दा पनि ‘गराइ’बाट नै त सिक्ने हुन् !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?