काठमाडौँ – २ दिने राजकिय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी चिनपिङ भारतको चेन्नइबाट काठमाडौंका लागि प्रस्थान गर्नुभएको छ । विशेष विमानमार्फत उहाँ काठमाडौँका लागि उड्नुभएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार उहाँ १ः४५ बजे चेन्नइबाट काठमाडौंका लागि उडेको विशेष विमानबाट काठमाडौँ आउँदै हुनुहुन्छ ।
यसैबिच उहाँलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आफैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जानुहुने भएको छ।
यसअघि १७ कात्तिक २०७३ मा भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा उनलाई स्वागत गर्न पनि राष्ट्रपति भण्डारी विमानस्थल पुग्नुभएको थियो ।
सीको स्वागतमा विमानस्थलमा प्रधानमन्त्री एवं मन्त्रिपरिषदका सदस्यहरु पनि हुने बताइएको छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री र मन्त्रीहरुको परिचय गराउने बताइएको छ ।
उहाँलाई त्रिभुवन विमानस्थलमै नेपाली सेनाले गार्ड अफ अनर दिनेछ । सीको सम्मानमा २१ तोपको सलामी दिइनेछ ।यसअघि विदेशी राष्ट्रप्रमुखरसरकार प्रमुख आउँदा टुँडिखेलमा गार्ड अफ अनर सम्मान गारत दिने गरिन्थ्यो । सुरक्षाका कारण उहाँलाई त्यहाँ नै गार्ड अफ अनर सम्मान दिन लागिएको हो ।
सीको भ्रमण दलमा दुईवटा बोइङको प्रयोग भएको छ । काठमाडौं उत्रने बेलामा शनिबार दिउँसो २ः५५ देखि ५ः२५ सम्म विमानस्थलमा व्यवसायिक उडानहरु ठप्प हुनेछन् । आइतबार दिउँसो सी स्वदेश फर्कने बेलामा पनि केहीबेर उडान अवरुद्ध हुनेछ ।
काठमाडौं उपत्यकाका सडक पनि खाली हुनेछन् । ट्राफिक प्रहरीले चक्रपथभित्र ‘हेभी’ सवारीसाधनलाई प्रवेश निषेध गरेको छ ।
सीको सवारीका क्रममा सडक पूर्ण रुपमा खाली गरिनेछ भने सडकको दुई किनारमा हिँडडुल गर्न तथा उभिएर हेर्नसमेत रोक लगाइनेछ ।
सीको स्वागत र विदाइका लागि निजामती कर्मचारीहरुलाई राष्ट्रिय पोशाकमा सडकको किनारामा उभिन सम्बन्धित मन्त्रालयले निर्देशन दिएको छ । कर्मचारीहरुलाई माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सडकका दुबै किनारामा राष्ट्रिय पोशाक लगाएर उभिन भनिएको छ ।
त्यसपछि उहाँ सोल्टी जाने कार्यक्रम छ । राष्ट्रपति सी जिनपिङको स्वागतका लागि सरकारले तीन दिन सोल्टी होटल बुक गरेको छ । सुरक्षाका कारण सर्वसाधारणलाई बस्न नदिने गरी शुक्रबारदेखि आइतबारसम्म होटलका सबै कोठा बुक गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया