उपनिर्वाचनका लागि ४ लाख ५४ हजार ११४‍ मतदाता, पुरुषको तुलनामा महिला धेरै

काठमाडौं– आगामी मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनमा ४ लाख ५४ हजार ११४‍ मतदाता मतदानका लागि योग्य रहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार अन्तिम मतदाता नामावली तयार गर्ने सिलसिलामा उपनिर्वाचन हुने ३७ जिल्लाका स्थानीय तहका १५५ वडामा मतदाता नामावली ऐन, २०७३ बमोजिम मतदाता नामावली अध्यावधिक (दाबी बिरोध) कार्यक्रम सञ्चालन गरिएको थियो । सो बमोजिम उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा कुल ४,५४,११४‍ मतदातामध्ये महिला मतदाता २,३३,४०२ जना, पुरुष मतदाता २,२०,७१० जना र अन्य लिङ्गी मतदाता २ जना रहेका छन् ।
प्रतिनिधि सभा सदस्यको निर्वाचन हुने कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ मा ‍७१,८७१ जना, प्रदेश सभा सदस्यको निर्वाचन हुने भक्तपुर, बाग्लुङ्ग र दाङ्गका सम्बन्धित निर्वाचन क्षेत्रमा क्रमशः ४५,०१५ जना ३६,९२६ जना र ७३,१७२ जना मतदाता रहेका छन् ।

प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्यको रिक्त पदका लागि मंसिर १४ गते शनिबारका दिन उपनिर्वाचन हुँदैछ ।

यसैबीच आयोगले उपनिर्वाचन प्रयोजनको लागि मतदान केन्द्र समेत तोकेको छ । मतदान केन्द्र तोक्दा बढीमा एक हजार एकसय मतदाताका लागि एक मतदान केन्द्र रहने गरी तोकिएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?