अन्ततः महराको ​संसद पद पनि निलम्बन

काठमाडौं । बलात्कार अभियोगमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको ​संसद पद पनि निलम्बनमा परेको छ ।
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोप महरामाथि छ । अब उनको सेवासुविधा पनि रोक्का हुनेछ ।

संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले महरा निलम्बनमा परेको सूचना प्रकाशित गरेका छन् ।

महासचिव भट्टराईले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २४४ को उपनियम ३ बमोजिमको प्रयोजनका लागि पक्राउ गरिएको हुँदा उपनियम २ बमोजिम सूचना जारी गरिएको बताएका छन्। प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २४४ को उपनियम ३ मा ‘संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कुनै सदस्यलाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी प्राप्त भएमा त्यस्तो सदस्यलाई प्रहरी हिरासतमा रहेको अवस्थामा वा प्रचलित कानुन बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पूर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निजको पारिश्रमिक, सेवा र सुविधा स्थगित हुनेछ’ भन्ने व्यवस्था छ।
महरा गत बिहीबार पक्राउ परेका थिए । हाल उनी महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रहेका छन् । बलात्कार अभियोग लागेपछि उनले सभामुख पदबाट पनि राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?