संस्कृतिविद् नजरमा फेरिएको दशैँ ‘ज्वाईँलाई ५ सय दक्षिणा’

काठमाडौँ – जबजब चाडपर्व नजिकिन्छ संस्कृतिविद प्रा.डा.वीणा पौड्याललाई भ्याइ नभ्याइ हुन्छ । पत्रपत्रिकादेखि रेडियो, टेलिभिजनमा अन्तर्वार्ता दिन उहाँ व्यस्त हुनुहुन्छ । दशैँ आँगनमै आइपुग्दा उहाँलाई व्यस्तताले उसैगरी समातिसकेको छ ।
दशैँका सांस्कृतिक महत्त्वदेखि विविध पक्षहरुका बारेमा अरुलाई सिकाउने उहाँ आफै कसरी दशैँ मनाउनुहुन्छ भन्ने कौतुहलता हामीले उहाँ समक्ष राख्यौं । ठट्यौली गर्दै उहाँले भन्नुभयो ‘जब पत्रपत्रिका, रेडियो, टिभीबाट दशैं सम्बन्धि लेखहरु लेख्नका लागि अनुरोध आउँछन्, अन्तर्वार्ताका लागि फोन आउँछ मेरो दशैं शुरु हुन्छ ।’
हुन पनि संस्कृति विषयमा उहाँको निपुणता र दशकौं लामो अनुभवका कारण उहाँलाई मिडियामा देख्न, सुन्न रुचाइन्छ । त्यसैले वीणाको दशैँ परिवार र मिडियामाझ नै बित्छ । ‘आफ्ना लागि दशैँ मनाउन पाइने त सानोमा मात्र हो । अहिले त घरव्यवहार अनि जागिर व्यवसायमै सिमित ।’ बाल्यकाल र अहिलेको दशैँलाई मनमनै तुलना गर्दै उहाँले बताउनुभयो ।

दशैँलाई फर्केर हेर्दा
उनको जन्म वि. सं २०१३ सालमा कुपन्डोलमा भयो । काठमाडौंमै जन्मेर हुर्केका कारण यहाँको परिवेश र चालचलनसँग उहाँ राम्ररी परिचित हुनुहुन्छ । आफ्नो मानस्पटलमा सुरक्षित रहेका पुराना यादहरुलाई चिहाउँदा उहाँ हरियालीले भरिपूर्ण, खुल्ला अनि सुन्दर काठमाडौं देख्नुहुन्छ । उमेर बढ्दै गयो, हेर्दाहेर्दै काठमाडौं पनि उहाँको उमेरसँगै छिप्पिँदै गयो । ‘अहिले जस्तो कहाँ थियो र काठमाडौं ? चारैतिर चौर, हरियाली, खेतबारी, जङ्गल थियो । खेल्न, कुद्न प्रशस्त ठाउँ हुन्थ्यो ।’ उहाँले सुनाउनुभयो, ‘काठमाडौंमा पनि देशको अन्य ग्रामीण भेगमाझैं दशैँ लाग्दै गर्दा सबैभन्दा शुरुमा पिङ लगाउने कुरा चल्थ्यो ।’
जुनसुकै बेला पिङ लगाउने चलन नभएकाले सबैजना विशेषतः केटाकेटीहरु दशैँकै प्रतीक्षामा हुन्थे । ‘दिनभरि घाममा लाइन लागेर तछाडमछाड गर्दै पिङ खेल्न जान्थ्यौं । खुब मज्जा हुन्थ्यो,’ यसो भन्दै गर्दा बाल्यकालको रमाइलो यादमा चुर्लुम्मै डुब्नुभयो वीणा । वीणासँग पिङका साथसाथै चङ्गाको पनि उत्तिकै रोमाञ्चक कथा छ । उहाँको गाउँमा आफूले उडाउने चङ्गा आफै बनाउने गर्थे । यसको लागि १०÷ १२ दिन अघिदेखि नै तयारी शुरु हुन्थ्यो । चङ्गा बनाउने कागज तयार पार्नेदेखि धागोमा काँच पिसेर मान्झा बनाउने काम सबै मिलेर गर्थे ।
घरघर, टोलटोलबीच चङ्गा उडाउने प्रतियोगिता हुन्थ्यो । ती सबै कुरा याद गर्दा वीणालाई बडो रमाइलो लाग्छ । संस्कृतिविद् भइसकेपछि मात्र उहाँले यी सबै परम्पराको महत्त्व बुझ्नुभयो । कृषि युगमा अहिले जस्तो प्रविधिको विकास भइसकेको थिएन, मनोरञ्जनका माध्यम पनि सिमित थिए । त्यसैले पिङ, चङ्गाहरुको सांस्कृतिक महत्त्वका साथसाथै मनोरञ्जनात्मक महत्त्व पनि भएको उहाँ बताउनुहुन्छ ।
‘नेपाल संसारकै हेभी मनसुन हुने ठाउँमध्ये एक हो । त्यसैले धेरै पानी परिसकेपछि ‘अब हामीलाई पानीले पुग्यो’ भन्ने सन्देश स्वर्गसम्म पुर्याउने माध्यमका रुपमा पनि चङ्गालाई प्रयोग गरिने कुरा हाम्रो संस्कृतिले बताउँछ । साउन, भदौमा चङ्गा उडाउँदा हामीलाई वरपर काम गर्दै गरेका काकाबडाहरुले गाली गर्नुहुन्थ्यो । यिनीहरुले मनसुन खेदाउँदैछन् भनेर,’ पुराना दिन याद गर्दै वीणाले सुनाउनुभयो ।

प्रविधि आयो, संस्कृति बिलायो
वीणा यस्तो जेनेरेसनकी प्रतिनिधि हुनुहुन्छ जसले पारम्पारिक र प्राविधिक दुवै किसिमको समाजलाई नजिकबाट अनुभव गर्न पाउनुभएको छ । पहिलाको दशैँ र अहिलेको दशैँमा आकाश जमिनको भिन्नता पाउनुमा मुख्य भूमिका प्रविधिको रहेको उहाँको भनाइ छ ।
‘अहिलेका बालबालिकालाई दशैँ खास लाग्दैन । किन लागोस् त वर्षभरि मीठो खान पाउँछन्, राम्रो लाउन पाउँछन्, मनोरञ्जनका लागि दशैँ पर्खिनु पर्दैन । सबैको हात हातमा फोन छँदै छ । हामी पो नयाँ लुगा लाउनलाई दशैँ कुथ्र्यौं । मीठो खान, पैसा भेला पार्न, रमाइलो गर्न जो कोही बेला कहाँ पाइन्थ्यो र ? अहिलेकाले पनि रमाइलो त गर्लान् तर, तरिका बदलिएको छ,’ फेरिएको दशैंको बारेमा वीणा भन्नुहुन्छ ।
वीणाका अनुसार चङ्गा, पिङको कल्चर मासिँदै जानुमा प्रविधि मात्र नभएर सुरक्षाको विषय पनि हो । हाम्रो भौगोलिक बनावट र अव्यवस्थित बसोबासका कारण चङ्गा उडाउन, पिङ लगाउनलाई पर्याप्त सुरक्षित ठाउँ नभएको उहाँ बताउनुहुन्छ ।

दशैँले दियो संस्कृतिविद् बन्ने प्रेरणा

वीणालाई सानैदेखि धर्मसंस्कृतिमा विशेष रुचि भएकाले चाडपर्वमा औधि खुसी हुने उहाँले बताउनुभयो । सानो छँदा उहाँको टोलमा नौरथा लागेदेखि हरेक दिन बिहान बाजा बजाउँदै उपत्यकाको विभिन्न मन्दिर परिक्रमा गर्ने चलन थियो । उहाँलाई दशैँको सबैभन्दा रमाइलो लाग्ने पक्ष पनि त्यही थियो । फेरि हरेक दशैँमा बुबाले नयाँ नयाँ मन्दिर घुमाउन लग्ने भएकाले पनि वीणालाई धर्मसंस्कृतिप्रति रुचि बढ्दै गयो । एउटा दशैँमा उसैगरी उहाँको परिवार पलाञ्चोक भगवतीको दर्शन गर्न काभ्रे पुग्यो ।
पलाञ्चोक भगवतीको मूर्तिको विशेषताका बारेमा बुबाले बताउन थालेपछि वीणाको मनमा यसैगरी हरेक मठमन्दिर र मूर्तिका बारेमा भन्न सकिने कसरी बन्ने ? यसको विज्ञ हुन कुन विषय पढ्नुपर्ला ? त्यस्तो विषय पनि छ होला र ? जस्ता जिज्ञासा एकाएक जन्मिए । नभन्दै उहाँले संस्कृति विषय लिएर आफ्नो उच्च शिक्षा पूरा गर्नुभयो र ‘मूर्ति विज्ञान’मा विद्यावारिधि पनि । आज उहाँ आफै विद्यार्थीहरुलाई मूर्तिका बारेमा, धर्मसंस्कृतिका बारेमा ज्ञान दिइरहनुभएको हुन्छ । भन्नुहुन्छ ‘अहिले पनि पलाञ्चोक भगवतीको नाम लिँदा मनमा वेग्लै आनन्द आउँछ किनकी म संस्कृतिविद् हुनुको प्रेरणा मैले त्यहीँ पाएको हो । दशैँकै बेला ।’

ज्वाईंलाई पहिलो दशैँमा ५ सय दक्षिणा दिएँ
समयसँगै चालचलन परिवर्तन हुनुमा वीणालाई आपत्ति छैन । ‘यो नर्मल प्रोसेस हो,’ वीणा भन्नुहुन्छ, ‘यद्यपी परिवर्तनको नाममा विकृति बढ्नु चाहिँ गलत हो ।’
परम्पराको नाममा ‘दक्षिणामा होडबाजी’ गर्नु अहिलेको दशैँको मुख्य विकृति भएको उहाँको ठम्याइ छ । ‘दक्षिणा भनेको फर्मालिटी मात्र हो भनेर सबैले बुझ्न जरुरी छ । धेरै दक्षिणा दिनुपर्दा टिका लाउने मान्छे नै नआइदिए हुन्थ्यो जस्तो फिल हुन थालिसक्यो मान्छेलाई ।’ यही विषयमा कुरा गर्दैगर्दा उहाँले आफ्नो व्यक्तिगत अनुभव लोकपथसँग बाँड्नुभयो ।
‘मेरो छोरीको बिहे भएपछिको पहिलो दशैँ थियो त्यो । ज्वाईं पहिलो पटक दशैँमा टिका लाउन आउँदै हुनुहुन्थ्यो । मलाई केकसो गर्नुपर्छ भन्ने आइडिया थिएन । साथीहरुलाई सोधेँ । के गरौं ? कति दक्षिणा दिउँ ? भनेर । पहिलो पटक आउन लागेकाले ५,१० हजार भन्दा घटी दक्षिणा नदिन सल्लाह दिए मेरा साथीहरुले । म अवाक् भएँ । हामी जतिको हैसियत भएको मान्छेले दक्षिणामै त्यति पैसा दिने ? भन्ने सोच आयो । मेरी साथीले आफ्नो ज्वाईंलाई पहिलो दशैँमा १० हजार दक्षिणा दिएकी रहिछन् । मैले ५ सय दिएँ । अहिले छोरी ज्वाईं बाहिर छन् नभए त्योभन्दा थोरै दिने थिएँ ।’
तपाईको दशैँ शुभ बितोस् । शुभ बडादशैँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?