काठमाडौँ – दशैँको रमझमले नेपालीहरुलाई छपक्कै छोपेको छ । माहोल दशैँमय भएका बेला दशैँ भनेको के हो ? यसको शुरुवात कसरी भयो ? दशैँका सांस्कृतिक महत्त्वहरु केकस्ता छन् भनेर बुझ्नका निमित्त लोकपथकर्मी प्रेरणा तिमल्सिनाले वाल्मिकी विद्या पीठका प्राचार्य प्रा.डा.गणेश घिमिरेसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :
दशैँ के हो ? कसरी शुरु भयो ? यसका सांस्कृतिक विशेषताहरु के के छन् ?
दशैँलाई नेपालीहरुकै सबैभन्दा महान चाडका रुपमा मनाइन्छ । यसको शुरुवात कहिले भयो भन्ने लिखित प्रमाण नभएपनि किंवदन्ती अनुसार दशैँ वैदिक कालदेखि नै मनाइदै आएको विश्वास छ ।
दशैँलाई लिएर दुई प्रकारका विश्वास छन् । एउटा नवदुर्गा भवानीसँग सम्बन्धित र अर्को भगवान रामले रावणमाथि हाँसिल गरेको जीतसँग ।
पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धीदात्रीको गरी घटस्थानाको दिनदेखि नवमीसम्म दुर्गा भवानीका ९ रुपको पूजा आराधना गरिन्छ ।
नवदुर्गा भवानीले राक्षशहरुको संहार गरेर असत्यमाथि जीत हासिल गरेको हुनाले दशैँमा शक्तिको आराधना गर्ने शास्त्रीय नियम छ ।
अर्को भनेको, यही दिन भगवान रामले दश इन्द्रियहरुमा विजय प्राप्त गरिसकेको रावणमाथि विजय प्राप्त गरेर असत्य र नकारात्मक शक्तिलाई सत्यले जित्छ भनेर प्रमाणित गरेकाले नै यस दिनलाई विजय दशमीका रुपमा मनाइएको हो ।
सांस्कृतिक महत्व एकातिर छँदै छ, यसका अतिरिक्त हाम्रा ५ कर्मे्न्द्रिय र ५ ज्ञानेन्द्रियका नराम्रा पक्षहरुमाथि विजय प्राप्त गरेर जीवनलाई सत्मार्ग्तिर लैजाने सकारात्मक उर्जा प्रदान गर्ने भएकाले दशैँलाई भव्य रुपमा मनाइँदै आएको हो । आफूभन्दा मान्यजनबाट टिका थापेर, उहाँहरुको आर्शीवाद ग्रहण गरेर सुकर्ममा लाग्ने एकप्रकारको अभिलाषा हामीमा रहेको छ । महत्व एकातिर छ भने पौराणिक धर्मिक महत्व अर्को्तिर रहेको छ ।
दशैँको समयमा मौसम स्वच्छ हुने, हिलोमैलो नहुने आकाश पनि स्वच्छ, सुन्दर हुने हुदाँ वातावरणीय हिसाबले पनि यसलाई राम्रो मानिएको छ । सामाजिक, धार्मिक, सांस्कृतिक विविधता सम्पूर्ण दृष्टिकोणबाट सबैमा आफ्नो उत्कृष्ट पहिचान रहेको छ ।
पहिला भदौ लाग्नासाथ आकाशमा रङ्गीचङ्गी चङ्गाहरु देखिन्थे, चौरमा पिङ खेल्नेको घुइँचो लाग्थ्यो । आजभोलि यस्ता दृश्य निकै कम देखिन्छन् । यस्तो किन ?
अहिले मनिसहरु धेरै व्यस्त भए । यति व्यस्त कि उनीहरुले आफ्ना माता पितालाई समय दिन, भेट गर्न पनि गाह्रो भइसक्यो । यस्तो अवस्थामा पिङ लगाउने, चङ्गा उडाउने त धेरै टाढाको कुरा हो ।
हाम्रो पूर्वजले उपहारस्वरुप दिएका धारणा, संस्कृति उनीहरु बुझ्न चाहँदैनन् ।
आजको पुस्ता प्राविधिक दृष्टिकोणले सम्पन्न छ । उनीहरुलाई प्रविधिले सम्पूर्ण कुरा सिकाएको छ । तर, सांस्कृतिक दृष्टिकोणबाट हेर्ने हो भने सबैभन्दा कमजोर पुस्ता आजकै छ ।
हाम्रो पुस्ता संस्कृतिक पक्षमा अलि जानकार थियो तर, पछिल्लो पुस्ता मनोरञ्जन, प्रविधि, विकास र वैज्ञानिक उन्नतितर्फ बढी अग्रसर भयो । यही कारणले सांस्कृतिक महत्वका विषयहरु दिन प्रतिदिन कमजोर बन्दै गइरहेका छन् ।
उनीहरुले संस्कृति के हो ? मादल र डम्फु कसरी बजाउने ? बालन र मारुनी कसरी नाँच्ने ? चाडपर्वको सांस्कृतिक मान्यता के कस्ता छन् ? यी यावत् कुराहरु बुझेकै छैनन् ।
आजको पुस्ताले यी सब कुरा नजान्नुमा, नबुझ्नुमा दोष कसको ? पहिलाको पुस्ताले बुझाउन नजानेको हो या अहिलेको पुस्ताले बुझ्न नचाहेको ?
आजको पुस्ता प्रविधिमा अगाडि बढ्न चाहन्छ । त्यसमाथि आजको शिक्षा व्यवसायिक छ तर, नौतिक रुपमा शून्य । हामीले आफु्ना छोराछोरीलाई द्रुतगामी तरिकाले प्रगति गर्न सिकायौं । तर संस्कृति सम्बन्धि ज्ञान दिन सकेनौँ ।
यता छोराछोरी पनि मोबाइल, ल्यापटपमा व्यस्त हुन्छन् तर मान्यगुन्य, आमाबुबालाई धर्म, परम्परा, संस्कृतिका बारेमा सोध्दैनन् । चासो राख्दैनन् ।
काठमाडौँमा नेवारी समुदायको वर्चस्व छ । यहाँको परिवेशलाई नियाल्ने हो भने, साना देखि युवा, बुढापाका सबैलाई आफ्नो संस्कार संस्कृतिका बारेमा अरु जात, समुदायका व्यक्तिलाई भन्दा बढी ज्ञान छ । आफ्ना मौलिक वाद्यवादन बजाउन, नृत्य नाँच्न, खानाका परिकारका बारेमा, चाडपर्वका बारेमा धेरै जानकारी छ । यसको एउटै कारण भनेको अघिल्ला पुस्ताहरुले सिकाए, पछिल्ला पुस्ताहरुले सिक्न चाहे । तर, सबैतिर यस्तै परिवेश छैन ।
यसमा दुवै पुस्ताको बराबर दोष छ ।
समयसँगै दशैँ खानपान, मोजमस्ती, रमाइलोमा मात्र सिमित हुन थालेको छ । मोडर्न हुने क्रममा हाम्रो मौलिकता हराउँदै गएको हो ?
संसार परिवर्तनशील छ । आधुनिकतालाई स्वीकार गर्नु एउटा पाटो हो भने त्यही आधुनिकतालाई अंकमाल गर्दा आफ्ना मूल्य परम्परालाई जोगाउनु अर्को ।
त्यसको ठ्याक्कै विपरित भइरहेको छ । दशैँमा भ्याएसम्म विभिन्न क्षेत्रमा लाग्ने खर्च छुट्याइन्छ, रमाइलो गर्ने तौरतारिकाहरुका बारेमा योजना बनाइन्छ । तर, भगवतीको आराधना गरी मनमा भएका अन्तरकलह, रिसराग हटाएर सबैको सुख र हित चाहने भावनालाई बेवास्ता गरेर समाज अगाडि बढिरहेको छ । मोडर्न हुनुपर्छ तर, मौलिकता नै भुसुक्क बिर्सेर होइन ।
दशैँमा बली दिने विषयमा दुईमत भाँजिएको छ । एक पक्ष भन्छ बली प्रथा हाम्रो संस्कृति हो, यसलाई निरन्तरता दिनुपर्छ । अर्को भन्छ, भगवानले रगत चाहँदैनन् । संस्कृतिविदको नजरले यसलाई कसरी मूल्याङ्कन गर्छ ?
यो परपूर्वकाल देखि चल्दै आएको रीत हो, परापूर्वकाल देखि चल्दै आएको यो परम्परालाई नामेट पार्ने कुरा हुँदैन ।
नेपालमा विभिन्न उपासनामा आवद्ध मानिसहरु रहेका छन् शाक्तहरुले भगवतीको उपसना गर्छन्, बली दिन्छन् । वैष्णवहरुले विष्णुको उपसना गर्छन्, शैवहरुले शिवको उपासना गर्दछन् । शाक्तहरु शक्तिको उपासक भएकाले भगवतीलाई नै मान्ने गर्दछन् ।
धर्मपुराणमा ब्राह्मणले बाहेक अरुले भगवती शक्तिको उपासना गर्न पाउने कुरा उल्लेख गरिएको छ । तान्त्रिक पक्षबाट हेर्ने हो भने भगवतीलाई शक्तिको रुप मानेको कारणले शक्ति सधंै रगत चाहन्छ भन्ने कुरा छ ।
जैविक अधिकारको दृष्टिकोणबाट हेर्ने हो भने, यो गलत हो । खसी, बोका, पंक्षी हरेक जीवलाई बाँच्ने अधिकार छ । तर देवी भगवतीको उपासनामा बली दिएर त्यही प्रसाद ग्रहण गर्ने चलन प्राचीनकाल देखि चल्दै आएको हो ।
त्यसैले, यसलाई कुन दृष्टिकोणबाट विश्लेषण गर्ने हो, आत्मसाथ गर्ने हो त्यसमा छुट छ । संस्कृतिविद्ले यसलाई बीचधारबाट मूल्याङ्कन गर्नुपर्छ ।
तपाईले दशैँलाई आजसम्म कसरी मनाउँदै आउनुभएको छ ?
जागिरे जीवन भएकाले दशैँ मनाउन निश्चित समय छुट्याइएको हुन्छ । नौरथाभरि शुद्ध रहेर, पवित्र मनोभावले हरेक दिन नौ देवीको पूजा आराधना गर्छु । दशमीमा घर जान्छु । आमाबुबाको हातबाट टिका आशीर्वाद ग्रहण गर्छु । दशैँलाई विशुद्ध पर्वका रुपमा मनाउँछु । मनोरञ्जनको रुपमा, रमाइलो गर्ने बहानाको रुपमा मात्रै मैले आज सम्म मानेको छैन । तर कसैले मनोरञ्जनको रुपमा मान्छ भने त्यसमा म बाधक पनि बन्दिन ।
(यो समाचार लोकपथ डट कमबाट वि.सं २०७५, कात्तिक १ बिहीवार प्रकाशित भएको थियो । समयसन्दर्भ मिल्ने भएकाले यसलाई पुनःप्रकाशन गरिएको हो ।)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया