महरा प्रकरण : अधिकारवादी संस्थाहरुद्वारा स्वतन्त्र छानबिनको माग

काठमाडौं। संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीसँगको विवादित सम्बन्धले सभामुख पद गुमाएका कृष्णबहादुर महराको घटनालाई स्वतन्त्र छानबिन गर्न महिला तथा मानव अधिकारवादी संस्थाले माग गरेका छन् ।
मानवअधिकारसँग सम्बन्धित १७ संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै १२ असोजमा भएको यो घटनाले २४ घण्टामा नै अर्को मोड लिनुलाई गम्भीरतापूर्वक लिएर छानबिन गर्नुपर्ने माग राखेको हो ।

प्रभावित महिलाले प्रमाणसहित घटना सार्वजनिक गरेकी छन् । तर, घटनाको दोस्रो दिन आफूले लगाएको आरोपलाई आफैले खण्डन गर्दै आफूमाथि कुनै पनि घटना नभएको बताउनुले आफ्नो वा परिवारको सुरक्षाको कारण भनाइ परिवर्तन गरेको हुन सक्नेतर्फ संकेत गरिएको विज्ञप्तिमा उल्लेख छ ।
महिलाले महरा कोठामा आएको, कुटपिट र बलात्कार भएको, महराको फुटेको चस्मा, जुत्ताको तलुवा, महराले मदिरा सेवनका लागि प्रयोग गरेको ग्लासलाई प्रमाणका रूपमा प्रस्तुत गरेकी थिइन् । घटनाको केही समयपश्चात् नै प्रहरीलाई खबर गरेको, प्रहरी घटनास्थलमा आएको र सञ्चारमाध्ययमसँग कुरा गर्ने क्रममा नै महराको फोन आएको, महराले पठाएको र आफूले महरालाई पठाएको म्यासेजलगायतका सम्पूर्ण विवरण प्रमाणसहित व्यक्त गरेकी थिइन् । तर, एकाएक आफ्नो भनाइबाट फिर्ता हुनुलाई सामान्य रूपमा लिन नसकिने ती संस्थाले विज्ञप्तिमार्फत जनाएका छन् । राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?