काठमाडौं । नेपाली कांग्रेसले असोज ७ गते दोश्रो चरणको जागरण अभियान सम्पन्न गरेको छ । भदौं २४ गतेदेखि सुरु भएको १५ दिने दोश्रो चरणको जागरण अभियान असोज ७ गते सम्पन्न भएको हो ।
पहिलो चरणको अभियान जिल्ला केन्द्रित गरेको कांग्रेसले दोश्रो पटक भने हरेक प्रदेशसभा निर्वाचन क्षेत्रमा संचालन गरेको थियो ।
पहिलो चरणमा ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएर कार्यक्रम गरेको गरेको कांग्रेसले दोश्रो चरणमा जिल्ला भन्दा अझै तल पुगेर ३ सय ३० वटा प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित अभियान चलाएको हो ।
१५ दुइ चरणको जागरण अभियानका क्रममा पहिलो चरणको अभियानमा केहि अव्यावहारिकपन र व्यवस्थापनमा कमजोरी देखिएपनि दोश्रो चरणको अभियानमा पहिलो चरणको अभियानबाट पाठ सिक्दै सहजता देखिएको विज्ञप्तिमा उल्लेख छ ।
यसैक्रममा पार्टीलाई मजबुत र क्रियाशील बनाउनका लागि पार्टीभित्र नयाँ अवधारणाहरु अघि सारेको छ । जस्तै: मन्चमा धेरै मान्छे नराख्ने, खादा र मालाको प्रयोग गर्ने साथै कम बोल्ने धेरै सुन्ने रहेका छन् । अभियानको क्रममा कांग्रेसका नेता कार्यकर्तामाथि हुलहुज्जत र आक्रमण भएको कुरा पनि विज्ञप्तिमा उल्लेख गरेको छ ।
दुइ चरणको जागरण अभियानको क्रममा ५३ हजार ४ सय ७९ नेकपा तथा अन्य दलका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।अभियानका क्रममा पार्टी प्रवेश गरेका नव सदस्यहरुका लागि आवश्यक प्रशिक्षणको आयोजना गरिने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसैबीच कांग्रेसले असोज २६ गते (कोजाग्रत पूर्णिमाका दिन) चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।
यस्तो छ कांग्रेसले जारी गरेको विज्ञप्ति
हिमाल, पहाड, तराई–मधेश (हिपतम)नेपाली कांग्रेस राष्ट्रिय जागरण अयिभानको दोस्रो चरण भदौ २४ गते जननायक वीपी कोइरालाको जन्म जयन्तीका दिन प्रारम्भ भई असोज ७ गते समापन भएको यहाँहरुलाई विदितै छ । प्रथम चरणको तुलनामा थप उत्साहपूर्वक र व्यवस्थित ढंगले सम्पन्न भएको अभियानको ३३० क्षेत्रकै अन्तिम प्रतिवेदन यतिवेला प्राप्त हुने क्रममा छ । समग्र विवरण हामी यथा समयमा प्रकाशित गर्नेछौँ ।
अभियान १५ दिनसम्म समग्रतामा उत्साहपूर्वक चल्यो
पार्टीका अन्तरिम संरचनाहरु नहुँदा प्रथम चरणमा जो व्यवहारिक असहजता देखिएका थिए पार्टी विधानको धारा ७२ को उपधारा (४) बमोजिम यस बीचमा प्राय संरचना निर्माण भएका कारण दोस्रो चरणको कार्यक्रमहरु अझ व्यवस्थित रहे ।
३३० प्रदेश सभा क्षेत्रमा केन्द्रीय प्रतिनिधिको सकृयता, जिल्ला कार्यसमितिको समन्वय, प्रदेश सभा क्षेत्रीय कार्यसमितिको नेतृत्व र संघीय क्षेत्र, गाउँ–नगर–वडा–टोल तहसम्मको वृहत्तर सहभागिताले पार्टी पंक्तिमा थप जागरण अभिवृद्धि भएको छ ।
पन्ध्र दिनको अवधिमा वडा, गाउँ–नगर, क्षेत्र र जिल्ला तह समेतमा गरी ८ हजारभन्दा बढी कार्यक्रमहरु सम्पन्न भएका छन् ।
अन्तिम दिनको प्रदर्शनमा देशव्यापी गरेर हजारौंको सहभागिता रह्यो भने ‘बोल्ने कम सुन्ने बढी’ पूर्व निर्धारित अवधारणाका कारण देशभरिबाट हजारौँको सल्लाह, सुझाव, आलोचना र महत्वपूर्ण विचार पार्टीलाई प्राप्त भएका छन् । आगामी दिनमा थप परिस्कृत ढंगले अघि बढ्न प्राप्त सबै भावनाले पार्टीलाई ऊर्जा प्रदान गरेको छ र पार्टीले ती सबै भावनालाई सम्पतिका रुपमा ग्रहण गरेको छ ।
अभियानका क्रममा प्रदेश सभा क्षेत्र र जिल्लाहरुबाट हालसम्म प्राप्त तथ्याङ्क बमोजिम प्रथम चरणको ३१ हजार ६ सय ४२ को तुलनामा झण्डै दोब्बर संख्या नेपाली कांग्रेसमा समाहित भएको छ । खासगरी सत्तारुढ कम्युनिष्ट पार्टी एवं अन्य दल परित्याग गरेर ५३ हजार ४ सय ७९ जनाले नेपाली कांग्रेसको सदस्यता लिनु भएको छ ।
अभियानका क्रममा पार्टी प्रवेश गरेका नव सदस्यहरुका लागि आवश्यक प्रशिक्षणको आयोजना आगामी दिनमा गरिनेछ ।
अभियान स्वदेशमा मात्र नभएर विदेशमा पनि सम्मानीत सर्वोच्च अदालतले फैसला गरे बमोजिम मताधिकारको माग गर्दै दूतावासमा ज्ञापनपत्र बुझाएर सम्पन्न भएको छ ।
अभियानका क्रममा रहेका एवं औल्याइएका कमजोरीहरु आत्मसात गर्दै र त्यसलाई सच्याउँदै पार्टी अघि बढ्नेछ ।
उत्साह र एकताका साथ जागरण अभियानको दोस्रो चरणमा सहभागी स्वदेश र विदेशमा रहेका समस्त सदस्य, शुभचिन्तक एवं संचारकर्मीमा नेपाली कांग्रेस धन्यवाद, बधाइ र आभार प्रकट गर्दछ ।
सत्ता संरक्षित नवमण्डले प्रवृति बारे
हिपतम जागरण अभियान चलिरहेकै समयमा देशका विभिन्न भागमा विभिन्न संस्थाहरुको निर्वाचन परिणाम सत्तारुढ समर्थनको विपक्षमा र नेपाली कांग्रेस निकट उम्मेदवारहरुको पक्षमा प्राप्त भए । नेपाली कांग्रेसको पक्षमा रुपान्तरित हुँदै गएको जनमतलाई ती निर्वाचनको परिणामसँगै हजारौँको पार्टी प्रवेशले पुष्टि गरेको
छ । यसैका प्रतिको आक्रोश क्रममा बाँके र तनहुँका घटना भएका छन् । बाँकेमा कांग्रेस जिल्ला सभापति श्रीमती किरण कोइराला माथिको आक्रमण र तनहुँमा केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल माथिको आक्रमण प्रयास नवमण्डले चरित्रको प्रकट स्वरुप हो । यस बीचमा फरक विचार प्रस्तुत गरेकै आधारमा चितवनमा एक युवा माथि गरिएको सांघातिक हमला पनि निन्दनीय छ ।
पछिल्लो समय नेपाली समाजमा प्रकट भइरहेका अनेक असन्तुष्टी र वितृष्णा मूलत वर्तमान सरकारको डेढ वर्षे कृयाकलापको उपज हो भन्ने हाम्रो ठहर छ । अवस्थाप्रतिको वितृष्णालाई व्यवस्थाकै विरुद्ध प्रचारित हुन नदिन गम्भीर जवाफदेहिता राख्नु पर्ने दायित्व बोकेको सरकार र सत्तारुढ पार्टीको व्यवहार परिमार्जन तर्फ नभै प्रतिकार तर्फ लक्षित हुनु अत्यन्तै दुःखद छ । नेपाली कांग्रेस सरकारलाई सार्वजनिक ढंगले सचेत गराउँदै रगत पसिना बगाएर बहुमत दिलाउने कार्यकर्ताहरुलाई नवमण्डलेकरणको दिशामा नधकेल्न सत्तारुढ नेकपाको नेतृत्वलाई सार्वजनिक अपिल गर्दछ ।
पूर्व लोकतान्त्रिक फोरमसँग एकता प्रकृया बारे
हिपतम जागरण अभियानको दोस्रो चरण समापन लगत्तै असोज १० गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको नेपाली कांग्रेसमा समायोजन प्रकृयालाई अन्तिम रुप दिएको छ । जागरण अभियान लगत्तैको यो निर्णयले पार्टी पंक्तिमा थप ऊर्जा अभिवृद्धि गरेको छ । समायोजन समितिले सहमतिपूर्वक तयार गरी केन्द्रीय कार्यसमितिले सर्वसम्मतिले पारित गरेको खाका बमोजिम चयन गरिनु हुने व्यक्तित्वहरु बारे चाँडै नै आधिकारिक विज्ञप्ति मार्फत सार्वजनिक रुपले सुसूचित गरिनेछ ।
कोजाग्रत पूर्णिमाको चियापन कार्यक्रम बारे
०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्कनु भएपछि जननायक वीपी कोइरालाले प्रारम्भ गर्नु भएको चियापानको कार्यक्रम मार्फत सद्भाव आदान–प्रदानको निरन्तरता क्रममा आगामी असोज २६ गते आइतबार कोजाग्रत पूर्णिमाका दिन अपरान्ह १ बजेदेखि ५ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा नेपाली कांग्रेसले चियापान कार्यक्रम आयोजना गर्दैछ ।
विगतमा केन्द्रीय रुपमा मात्रै आयोजना गरिने दशै, तिहार र नेपाल सम्वतका अवसरमा कोजाग्रत पूर्णिमाको दिनको चियापन कार्यक्रम गत वर्षबाट एकै दिन देशव्यापी आयोजना गरिएझै यसपटक पनि काठमाडौँ उपत्यकाका हकमा केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिको र उपत्यका बाहिर ७४ जिल्लामा नेपाली कांग्रेस जिल्ला कार्यसमितिहरुको आयोजनामा सम्पन्न हुनेछन् ।
पर्वहरुको शुभकामना
नेपाली कांग्रेस स्वदेश र विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी दाजुभाइमा आसन्न सबै पर्वहरुका अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ । यी पर्वहरुका अवसरमा हाम्रा कर्महरुको समिक्षा गर्दै रुपान्तरित ढंगले अघि बढ्न हामी सबैलाई शक्ति मिलोस् !
जय नेपाल !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया