इरानी राष्ट्रपतिसँगको भेटघाट टुङ्गो लागेको छैन : ट्रम्प

एजेन्सी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी साता संयुक्तराष्ट्र संघ महासभाको बैठकका क्रममा इरानी राष्ट्रपतिसँग भेटघाट हुन सक्ने सम्भावना रहेको बताउनुभएको छ । तर उहाँले भेटघाटको औपचारिक कार्यक्रम अझैसम्म तय भइनसकेको जानकारी दिनुभयो ।

संयुक्तराष्ट्र महासभाको बैठकस्थल न्यूयोर्कमा दुबै नेताबीच भेटवार्ता हुने सम्भावनाका बारेमा विभिन्न अड्कलबाजी भइरहेका छन् । फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याँक्रोले दुबै नेताबीच वार्ता गराउन प्रयास जारी राख्नुभएको छ ।

साउदी अरेबियाका दुईवटा तेल प्रशोधन केन्द्रमा आक्रमण भएपछि इरानी र अमेरिकी राष्ट्रपतिबीचको भेटवार्ता लगभग टुङ्गिएको थियो । अमेरिकाले साउदीमा भएका आक्रमणहरु इरानले गरेको आरोप लगाउँदै आएको छ, तर इरानले भने अमेरिकी आरोप सत्य नभएको दाबी गर्दै आएको छ ।

राष्ट्रपति ट्रम्पले पत्रकारहरुसँग कुरा गर्दै आफूले इरानी नेतालाई भेट्न चाहेको बताउनुभयो । “तर, अहिलेसम्म कुनै समयतालिकाका बारेमा छलफल भएको छैन ।”

सोमबार फ्रान्सेली राष्ट्रपति म्याँक्रोले राष्ट्रपति ट्रम्पसँग अनौपचारिक परामर्श गरेपछि त्यही साँझ इरानी नेता रौहानीसँग झण्डै ९० मिनेट वार्ता गर्नुभएको थियो ।

फ्रान्सेली राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा दुबै मुलुकबीच गतिरोध अन्त्य गर्न त्यति सहज नरहेको तर इरानले पनि आफूलाई सुधार गर्न जरुरी रहेको उल्लेख छ ।

म्याँक्रोले अमेरिकी राष्ट्रपतिलाई मंगलबार पनि भेट्दै हुनुहुन्छ । राष्ट्रपति म्याँक्रोले भन्नुभयो, मैले जतिसक्दो प्रयास गर्नेछु ताकि छलफलका लागि उपयुक्त वातावरण बन्न सकोस् ।

राष्ट्रपति ट्रम्पले भने इरानसँग वार्ता गर्न फ्रान्सको मध्यस्थता जरुरी नरहेको पनि बताउनुभयो । उहाँले इरानी नेताहरुलाई हामीसँग भेटवार्ता गर्न सम्पर्क विन्दुहरु भलिभाँती थाहा छ भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?