दशैं बिदा घुमघाममा सक्छन् नेपालीले ३५ अर्ब

काठमाडौं । दशैंको बिदा मनाउन विदेश गइ घुम्ने नेपालीहरुको संख्या बढदै गइरहेको छ । पहिले पहिले ठुला व्यापारी , कलाकार तथा अन्य उच्च पदस्थ व्यक्तिहरुमात्र विदेश जाने चलन थियो तर पछिल्ला वर्षहरुमा भने उच्च देखी मध्ययम वर्गका मानिसहरु दशैंको समयमा विदा मनाउन विदेश जानेको लर्को लाग्ने गरेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार वार्षिक करिब ३५ अर्ब रुपैयाँ विदेश घुम्न जाने नेपालीले डलर साट्ने गरेका छन् । विदेशमा पढ्न जानेहरुमात्र होइन पछिल्लो समय घुम्न जानेहरुको संख्या उल्लेख्य रहेको छ । त्यसैगरी, पढ्न, औषधि उपचार, धार्मिक कार्यका लागि जानेक्रम पनि बढेको छ । यसको लागी वार्षिक ९० अर्बभन्दा बढी सकिने गरेको छ । विदेश जाँदा बैंकहरुले डलरको सञ्चिति नभएको भन्दै नेपाली नागरिकलाई धमाधम रित्तो हात फर्काउन थालेपछि सोर्स फोर्स लगाएर डलर साटन बाध्य भएको उनीहरुको भनाइ छ ।

राष्ट्र बैंकसँग भएको विदेशी मुद्राको सञ्चितिले वस्तु तथा सेवाको बढ्दो आयात धान्न, सरकारले विदेशी निकायसँग लिएको ऋण तिर्न, औषधि उपचार गर्न विदेश जाने, पढ्न र भ्रमणमा विदेशी जानेलाई सुविधा दिनुपर्छ । अमेरिकी डलर बलियो बन्दै गएको र नेपाली रुपैयाँ इतिहासकै कमजोर भएकाले पनि अमेरिकी डलरको जोहो गर्ने बढेपछि त्यसलाई निरुत्साहित गर्न राष्ट्र बैंकले कडा नीति अख्तियार गरेको बताइन्छ । तर, यसको असर सर्वसाधारणलाई बढी परेको देखिन्छ ।

अमेरिकी डलर महँगो बन्दै गएका बेला मुलुकमा यसको सञ्चिति घटेको छ । राष्ट्र बैंकका अनुसार २०७५ असारसम्ममा १० अर्ब आठ करोड अमेरिकी डलर सञ्चित थियो । तर, त्यस्तो संञ्चितिमा क्रमशः कमी आउँदै गएको छ । २०७६ को असारसम्ममा डलर सञ्चिति घटेर ९ अर्ब ५० करोडमा आइपुगेको छ ।

डलरको सञ्चिति कम भएको भन्दै नेपाल राष्ट्र बैंकले विदेश जाने नेपालीलाई डलर सटहीमा समेत कटौती गरेको छ । अघिल्लो आर्थिक वर्षमा विदेश जाने नेपालीले करिब ८० अर्ब रुपैयाँ बराबरको अमेरिकी डलर साटेर बाहिर लगेपछि राष्ट्र बैंकले सटही सुविधामा कटौती गरेको हो ।

राष्ट्र बैंकले विगतका वर्षमा भन्दा केही रकम घटेकाले पूर्वसावधानी अपनाउन यस्तो व्यवस्था गरिएको बताएको छ । राष्ट्र बैंकले नगद सुविधाबाहेक टीटी सुविधा पनि घटाएको छ । यसअघि ४० हजार अमेरिकी डलरको टीटी सुविधा घटाएर ३० हजारमा झारिएको छ । डलर सञ्चितिमा कमी आएका कारण डलरमा कटौती गर्न राष्ट्र बैंक बाध्य भएको हो ।

राष्ट्र बैंकले गरेको यस्तो व्यवस्थाले विदेश जाने सर्वसाधारणलाई समस्यामा पारेको छ । राष्ट्र बैंकले कुनै पनि नेपाली नागरिकलाई भारतबाहेक तेस्रो मुलुक जाँदा दुई हजार पाँच सय अमेरिकी डलर दिँदै आएको थियो । त्यसलाई कटौती गर्दै अहिले कुनै पनि व्यक्तिले नगदमा एक हजार पाँच सय अमेरिकी डलरभन्दा बढी सटही सुविधा नपाउने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?