टिकट बुकिङ खुलेसँगै यात्रुको घुइँचो

काठमाडौँ २७ भदौ ।रातभरीको वर्षा, बिहानको चिसो मौसम, हजारौँ मानिसको लाम, हातमा पैसा बोक्दै काउण्टरमा धकेलाधकेल– यो काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कको दृश्य हो । नेपालीको महान चार्ड बडादशैँ नजिकिएसँगै सरकारले आजदेखि लामो तथा मझौला दूरीको टिकट बुकिङ खुला गरेको छ । अग्रिम टिकट बुकिङको खबर केही दिन अगाडिदेखि नै सञ्चारमाध्यममा छाएपछि एकाबिहानै हजारौँ व्यक्ति नयाँ बसपार्कमा लामबद्ध देखिन्थे । आगामी असोज १० गते प्यूठानको मच्छी जान ग्वार्कोबाट टिकट लिन बिहान ४ बजे नयाँ बसपार्क आउनुभएका विकास केसीले ७ बजे टिकट पाए । टिकट पाएपछि उनी खुशी थिए । “बिहान ४ बजे पानी परिरहेको थियो, म साथीको मोटरसाइकलमा टिकट लिन आएको हुँ, वर्ष दिनपछि आएको दशैँमा त घर जानुप¥यो नि”, केसीले भने ।विभागले यही भदौ २२ गतेदेखि टिकट बुकिङ खुला गर्ने निर्णय भए पनि यातायात व्यवसायीले विभिन्न समस्या देखाउँदै बुकिङ खुला रद्द गरेपछि आजदेखि खुला भएको हो ।यस्तै एक वर्षको शिशु हातमा बोकेर लाममा बसेकी तारा देउवा कैलालीको लम्की जाने बसको टिकट लिने पर्खाइमा थिईन । बिहान ७ बजे कपनबाट टिकट लिन आएकी उनले समयमा बुकिङ नखोल्दा आफूहरुलाई समस्या परेको बताईन । “गत वर्षमा त यति धेरै भीड भएको जस्तो लाग्दैन तर यस वर्ष ज्यादा भीड छ”, उनले भनिन । पूर्व तथा पश्चिम जानका लागि काठमाडौँ उपत्यकाका नयाँ बसपार्क, गौशाला, सुन्धारा, कोटेश्वरलगायत स्थानमा अग्रिम बुकिङ खुला गरिएको छ । सबैभन्दा धेरै यात्रु नयाँ बसपार्कबाट बाहिरिने गर्छन । ल्होत्से बहुउद्देश्यीय प्रालिले ४५ वर्षका लागि जग्गा भाडामा लिएर नयाँ बसपार्क सञ्चालन गरेको छ । प्रालिका मानव संसाधन प्रमुख पंकज मल्ल लामो दूरीका लागि नयाँ बसपार्कबाट अरु समयमा दैनिक ३०० को हाराहारीमा बस बाहिर जाने गरे पनि दशैँका समयमा एक हजारको हाराहारीमा जाने गरेको बताउँछन । मल्लले पूर्व जानेभन्दा पश्चिम जाने धेरै यात्रु टिकटका लागि बसपार्क आएको बताए ।लामो तथा मझौला दूरीको सवारी साधनको टिकट बुकिङ खुला गरिएसँगै नयाँ बसपार्क क्षेत्रमा सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ । चाडपर्वका समयमा चोरी, डकैती, ठगीलगायत घटना नहून् भन्ने उद्देश्यले महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले विशेष सुरक्षा योजना अगाडि ल्याएको छ ।पचपन्न जनाको दरबन्दी भएको उक्त प्रभागमा बसपार्क क्षेत्रको विशेष सुरक्षाका लागि थप जनशक्ति माग गरिएको प्रभागका प्रमुख प्रहरी निरीक्षक हरिहर सुनुवार बताउँछन ।यस्तै यात्रुलाई सहज रुपमा गन्तव्यसम्म पु¥याउनका लागि यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा, यातायात व्यवसायीलगायतले ‘यात्रु सहायता कक्ष’समेत सञ्चालन गरेका छन । महाशाखाका प्रमुख सर्वेन्द्र खनाल यात्रु भाडाका विषयमा नठगिउन भन्ने उद्देश्यका साथ काठमाडौँ उपत्यकाका १२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको बताउँछन । खनालले बढी भाडा लिइएमा तत्काल महाशाखामा खबर गर्न आग्रहसमेत गरे । यात्रु सहायता कक्षमा विभागका कर्मचारी ट्राफिक प्रहरी र उपभोक्तावादी एक एक जना रहने व्यवस्था मिलाइएको छ । विभागका अनुसार प्रत्येक वर्ष २० देखि २१ लाख यात्रु दशैँ मान्नका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिन्छन् । विभागका प्रवक्ता डा टोकराज पाण्डेका अनुसार १५ देखि १६ लाख यात्रु सार्वजनिक यातायात र पाँच छ लाख निजी यातायातमा बाहिरिने बताउँछन ।“टिकट वितरणमा कुनै समस्या छैन, सहज रुपमा सौहार्दपूर्ण रुपमा वितरण भइरहेको छ”, प्रवक्ता डा पाण्डेले भने । यातायात व्यवसायी राष्ट्रिय महासंघले यस वर्ष गत वर्षको जस्तो नयाँ सवारी साधन थपेको छैन । महासंघका महासचिव सरोज सिटौला बैंकको महँगो ऋण र बाटो नराम्रो भएका कारण नयाँ बस नथपिएको बताउँछन । उनले सवारी साधन नथपिए पनि यात्रुलाई सुरक्षित गन्तव्यसम्म पु¥याउन आफूहरु तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?