ट्रम्पद्वारा चिनियाँ सामानमा नयाँ कर लागू

एजेन्सी । विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका बीच नयाँ व्यापार सम्झौता गर्न चीनमाथि दबाब दिने उद्देश्यले संयुक्तराज्य अमेरिकाले आइतबारदेखि लागू हुनेगरी चिनियाँ सामानको आयातमा नयाँ करहरु लागू भएको घोषणा गरेको छ ।

अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयका अनुसार करिब ३०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा अतिरिक्त १५ प्रतिशत करवृद्धि हुनेछ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार यसअघि गरिएको घोषणा नै कार्यान्वयनमा ल्याउने र त्यसलाई ढिलाई गर्न नसकिने बताउनुभएको थियो । उहाँले संवाददाताहरुलाई भन्नुभएको थियो, “घोषित करवृद्धि लागू हुन्छ, यो रोकिँदैन ।”

नयाँ करहरु खाद्य सामग्री, खेलकूदका सामान, संगीत सामग्री र फर्निचर समेतका दैनिक उपभोगका सामानमा करवृद्धि गरिएको छ । वासिङ्टनस्थित पिटर्सन अन्तर्राष्ट्रिय आर्थिक इन्स्टिच्यूटका अर्थशास्त्रीहरुले अमेरिकाको पछिल्लो कदमले करिब ११२ अर्ब अमेरिकी डलर बराबरका सामानमा असर पार्नेछ ।

चीनसँग व्यापार सम्झौता हुन नसकेपछि राष्ट्रपति ट्रम्पले गतसाता सन् २०१९ को अन्त्यसम्ममा सबै चिनियाँ सामानमा करवृद्धि गर्ने घोषणा गर्नुभएको थियो । अमेरिकातर्फ निकासी हुने कूल ५४० अर्ब बराबरका चिनियाँ सामानमा यसै वर्षको अन्त्यसम्ममा करवृद्धि हुनेछ ।

ट्रम्पको घोषणापछि यसै महिनाको शुरुमा बेइजिङले पनि अमेरिकी सामानमा करवृद्धि गरेको थियो । सेप्टेम्बर १ देखि लागू हुनेगरी चीनले ७५ अर्ब अमेरिकी डलर बराबरका अमेरिकी सामानमा कर बढाउने घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?