कलङ्की-चावहिल सडक विस्तारको तयारी शुरु

काठमाडौं । चीन सरकारले चक्रपथको कलङ्कीदेखि चावहिलसम्मको सडक विस्तारका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) अध्ययन गरिरहँदा यस खण्डमा सडक खाली गराउने काम शुरु भएको छ ।

सडक विभाग, चक्रपथ सुधार योजनाले कलङ्कीदेखि महाराजगञ्ज हुँदै चावहिलसम्म सडकको अधिकार क्षेत्रभित्र पर्ने स्थान खाली गराउन लागेको हो ।

सडकमा रहेका रूख, बिजुलीको पोल, खानेपानीको पाइपलगायतका संरचना हटाउन लागिएको योजनामा कार्यरत इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । उहाँका अनुसार कतिपय संरचना हटाउनका लागि विभिन्न निकायसँग सहकार्य हुनेछ ।

उहाँले भन्नुभयो, “ठेक्का गरेर भएका रूख कटाउने लगायतका काम शुरु गरिएको छ ।”

चक्रपथको चौडाइ सडकको मध्य भागबाट ३१ मिटर रहेको छ । चिनियाँको प्रतिवेदन आएपछि नै सडकको चौडाइ कति कायम हुने भन्ने टुङ्गो लाग्ने इञ्जिनीयर शर्माले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले हामीले चक्रपथको मापदण्डका आधारमा सडक खाली गराउन लागेका छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?