अरु लेखिएको कथा पढ्छन्, म नलेखिएको कथा पढ्छु: अमर न्यौपाने

धेरै वर्षमा थोरै कृति दिनुको कारण यस्तो

प्रेरणा तिमिल्सिना । काठमाडौं । शब्दको स्वभाव बडो अचम्मको हुन्छ । अहिले पानीजस्तै बगिरहेको शब्दलाई चट्टानजस्तै कठोर बन्न क्षणभर लाग्दैन त्यसैले शब्दको खेल यसलाई खेलाउने लेखकले पनि शायदै कहिल्यै बुझ्लान् । यही ‘बुझ्न खोज्ने तर बुझ्नै नसक्ने’ खेलमा एउटा लेखक उसको शब्दमार्फत् अमर बन्छ किनकी शब्दसँग प्राणीजस्तो श्वास हुँदैन । यस्ता निर्जीव शब्दमा सास भर्दै आएका नेपाली आख्यानका जाज्वल्यमान सिताराहरुमध्ये एक हुन् अमर न्यौपाने ।

लेखक बन्नु अमरको उद्देश्य थिएन । वास्तवमा उनले यो बन्छु भनेर कहिल्यै सपना पनि देखेनन् । समयले जहाँ डो¥यायो त्यहीँ बग्दै गए । तर, शब्दले अमरलाई सानैदेखि छुन्थे । गुरुप्रसाद मैनालीको नासो कथा सङ्ग्रह पढ्दै भक्कानिएको क्षण शायदै कहिल्यै मेटिएला अमरको मस्तिष्कबाट । विस्तारै शब्दप्रतिको लगाव र सिर्जनाको भोकले उनलाई लेख्न प्रेरित ग¥यो । उद्देश्यहीन व्यक्तिको जीवनमा एउटा लक्ष्य फूलाइदियो ।

आफ्नो दशक लामो लेखन यात्रामा अमरले ३ उपन्यास र २ कथा सङ्ग्रह प्रकाशन गरिसकेका छन् जसमध्ये उनको पहिलो कृति पानीको घामले २०६६ सालको पद्यमश्री पुरस्कार प्राप्त ग¥यो भने सेतो धर्ती नामक उपन्यास नेपाली साहित्य क्षेत्रमै सर्वश्रेष्ठ पुरस्कार मानिने मदन पुरस्कारबाट सम्मानित भयो । सङ्ख्यामा भन्दा गुणस्तरमा ध्यान दिने भएकाले पनि होला उनले आफ्ना पाठकहरुलाई धेरै वर्षमा थोरै कृति पस्किएका छन् ।
अमर केही न केही लेखिरहन्छन् । नलेख्दा पढिरहन्छन् । नपढ्दा घुमिरहन्छन् । यो उनको सिकाइ प्रक्रिया हो । यो सिकाइ अनन्त चलिरहने बताउँछन् उनी ।

समाज बुझ्नलाई अमर विभिन्न ठाउँ घुम्छन् । हामी लेखिएका किताब पढ्छौं तर समाजमा टहल्दै गर्दा आफूले नलेखिएको किताब पढ्ने उनले सुनाए । ‘कस लागेर पहेंला भएका तर मुस्कुराइरहेका दाँतमा, पटपटी फुटेका कुर्कुच्चामा परेका चिराहरुमा, कपडा उद्रिएपनि नउद्रिएको सुन्दरतामा कथा खोज्नु मेरो रुचि हो,’ उनले भने ।

जे होस्, लेखनले अमरको जीवनमा एउटा मीठास ल्याइदिएको छ । त्यस मीठासको स्वाद आफ्ना पाठकलाई चखाउन पाएकोमा उनी खुसी छन् ।
उनको लेखन यात्रालाई अझै नजिकबाट नियाल्न भिडियो हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?