जन्मदै दृष्टिविहीन रमेश सरको कथा, जसले तपाईंको सोच परिवर्तन गर्छ

जसले आँखा नदेखेर पनि संगीत सिकाइरहेछन्

प्रेरणा तिमल्सिना । काठमाडौं । अन्धकार हुनु भनेको शुन्य हुनु हो । सबै वरिपरि हुँदाहुँदै पनि एक्लो महसुस गर्नु हो । आफ्नो अस्तित्व छ भनेर थाहा हुँदाहुँदै पनि त्यस अस्तित्वको स्वरुपलाई नियाल्न नपाउनु हो । हातले छुने हरेक चीज, कानले सुनेको हरेक ध्वनिलाई चित्रण गर्न नसक्नु हो ।

त्यसैले त अन्धकारसँग अधिकांशलाई डर लाग्छ । तर, जीवनभर यही अन्धकारमा बाँच्न बाध्य दृष्टिविहीनले आखिर कसरी त्यही अन्धकारमा मुस्कान फूलाइरहेका हुन्छन् ? कसरी नदेखिएका दृश्यसँग हातेमालो गर्दै जीवन यात्रा अघि बढाइरहेका हुन्छन् ? यही कुरा बुझ्न हामी पुग्यौं रमेश सुवेदीले अध्यापन गर्ने विद्यालय ।

मोरङस्थित केराबारीमा जन्मिएका रमेश जन्मजात आँखा देख्दैनथिए । घरका जेठो छोरामा नै शारीरिक अशक्तता देखिएपछि रमेशका बाबुआमालाई सही नसक्नु पीडा भयो । अहिले भएको भए सायद शारीरिक अशक्ततता भएका व्यक्तिहरुले हासिल गरेको उपलब्धि, उनीहरुले पनि केही गर्न सक्छन् भन्ने सूचनामूलक सामाग्री हेरेर, सुनेर चित्त बुझाउने ठाउँ रहन्थ्यो होला तर, त्यसताका यस्तो बालकको जन्म हुनुले रमेशको परिवारमा आघात पु-यायो ।

रमेश भने यी सबै कुरादेखि अनविज्ञ थिए । उनको आफ्नो छुट्टै संसार थियो जहाँ रङ्ग, दृश्य, चित्रहरुको कुनै अस्तित्व थिएन । आवाज, धुन, सङ्गीतले सबैभन्दा महत्वपूर्ण स्थान ओगटेको थियो । जन्मदै दृष्टिविहीन भएकाले होला उनको दृश्यसँग सम्बन्ध भएन र सम्बन्ध नहुनुले नै उनलाई जीवन जिउन केही सहज भयो ।
संगीत र रमेशको सम्बन्ध बडो अचम्मको छ । बाल्यकालमा भाँडा ठटाएर, फुटाएर त्यहाँबाट निस्केको आवाज होस् या धाराबाट झर्ने पानीले भुइँलाई छुँदाको आवाज सबै किसिमको ध्वनिमा धुन पाउने रमेशले विस्तारै आफ्नो यही मोहलाई पहिचान बनाए ।

अहिले रमेश कीर्तिपुरस्थित ल्याबोरेटरी स्कुलमा दृष्टिविहीन तथा आँखा देख्न सक्ने दुवै किसिमका विद्यार्थीहरुलाई संगीत सिकाउँछन् । त्यस्तै दृष्टिविहीन विद्यार्थीहरुलाई ब्राइल भाषामा अन्य विषयसमेत पढाउँछन् रमेश । शिक्षण पेशामा मात्र नभएर रमेश सांगीतिक क्षेत्रमा पनि सरिक छन् । जस अन्तर्गत उनले आफ्नै शब्द रचनामा गीत रेकर्ड गराएका छन् भने हरेक रात लाइभ म्युजिक हुने ठाउँमा वाध्यवाजन पनि बजाउँछन् । उनले प्रशिक्षण दिएका बालबालिकाहरु गायन तथा संगीतमा अब्बल छन् । भविष्यमा रमेश सर जस्तै संगीतको साधक बन्ने सपना सजाएर अहिलेदेखि नै दत्तचित्त भएर कक्षामा उपस्थित हुन्छन् ।

यसर्थमा रमेशले आफ्नो कला र क्षमता मार्फत् ती बालबालिकाहरुलार्ई आत्मनिर्भरताको बाटोमा डो¥याइरहेका छन् ।

रमेश मुस्कुराइरहन्छन्, अभावलाई आफ्नो चेहराको भावमा पटक्कै झल्किन दिँदैनन् । शायद यही भएर होला उनको जीवन काँडै काँडाको बीचमा ढकमक्क फूलेको सुन्दर फूलजस्तै छ ।

https://www.youtube.com/watch?v=OvV4fqNzFOg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?