विश्वब्रह्माण्डलाई हिमाल पढाउन थालेकी योद्धाको साहसिक कथा: कहिले भरिया त कहिले व्यवसायी !

‘विदेशीहरु हिमाल चढ्नमात्रै होइन पढ्न पनि नेपाल आउन् !’

 

काठमाडौं । सोलुखुम्बुकी लाक्पाका लागि शहर त आकाशको फल बराबर थियो । कुनै बेला भरियासमेत रहेकी लाक्पा आफ्नै मिहिनेतले आज विश्वलाई हिमाल पढाउँछिन् ।

काठमाडौं । कसैले खनिदिएको बाटोमा हिँड्न जति सजिलो छ त्यो बाटो बनाउन उतिकै मुस्किल । त्यसैले त नेतृत्व गर्नु चानचुने कुरा होइन । जसले नेतृत्व गर्छ उसको काँधमा जिम्मेवारीको बोझ आफै थपिन्छ । लाख्पा फुटी शेर्पाले यही बोझलाई हल्का गरी बोकिरहेकी छिन् । नेपालमा मात्र नभएर विश्वमै हिमालसम्बन्धि अध्ययन गर्ने विषय स्थापित गर्ने पहिलो व्यक्ति उनै हुन् ।

नेपाल आफ्नो नामले भन्दा ‘सगरमाथा’को देश भनेर विश्वव्यापी रुपमा परिचित भएकाले हिमालका बारेमा पढाइ हुने विश्वविद्यालय स्थापना गर्न लाक्पा अघि सरिन् । भलै विश्व विद्यालय स्थापना गर्न अझै केही प्रक्रिया बाँकी नै छन् तर, नेपाल माउन्टेन एकाडेमी मार्फत् उनले हिमशिखरले सम्पन्न हाम्रा देशका युवाहरुलाई हिमाल पढाइरहेकी छिन् । एकाडेमीमा बिएमएस अर्थात् ब्याच्लर्स इन माउन्टेन स्टडिज अध्यापन हुनुका साथै ट्रेकिङ गाइड, स्किइङ आदिको प्रशिक्षण पनि दिइन्छ ।

हिमाललाई नजिकबाट नियाल्न, हिमालकै काखमा लुटपुटिन, एड्भेन्चर गर्न चाहने विश्वका विभिन्न कुनाकन्तराका मानिसहरुको पहिलो रोजाइमा पर्ने हाम्रो देश ‘हिमाल चढ्ने’ पर्यटक मात्र होइन ‘हिमाल पढ्ने’ विद्यार्थीको लागि पनि स्वर्णभूमि बन्नुपर्छ भन्ने उद्देश्य हो लाक्पाको । एकाडेमीका विद्यार्थीहरुलाई देख्दा आफ्नो सपनाको केही अंशले साकार रुप लिएको जस्तो अनुभूति गर्ने उनले बताइन् ।


त्यसो त उनले यो स्थानसम्म आइपुग्न गरेको संघर्ष चानचुने छैन । सोलुखुम्बुको चौरीखर्कमा जन्मिएकी लाक्पाका लागि शहर, भवन, रोड, गाडी सबै मीठो सपना बराबर थिए । हिमाल आरोहण गर्न आउने विदेशीहरुलाई हेरेर मनमनै आफू पनि त्यस्तै बन्ने कल्पना गर्थिन् । तर, गाउँमै बस्यो भने आफ्नो जीवन पनि कुवाको भ्यागुतो जस्तै हुन्छ भन्ने बुझेर होला १४ वर्षको उमेरमा उनी कसैलाई थाहा नदिइ शहर पसिन् । संघर्ष गरिन् । गाउँबाट आएकी १४ वर्षीया बालिकाका लागि यो शहर कति क्रुर भयो होला शुरुका दिनहरुमा…. सम्झिँदा लाक्पालाई सपना जस्तै लाग्छ ।

जीवन यात्रामा उनी कहिले भरिया बनेर हिमाल चढिन् त कहिले गाइड बनेर । धेरैलाई थाहा नहुन सक्छ तर, पहिलो पटक सगरमाथा आरोहण गर्ने नेपाली महिला पासाङ ल्हामु शेर्पाको आरोहण दलमा उनको सहयात्रीका रुपमा लाक्पा पनि थिइन् । भलै उनको सगरमाथा आरोहण गर्ने सपना अधुरो रह्यो तर, अहिले उनी आफूजस्तै हिमाललाई माया गर्नेहरुको सपना पूरा गर्न लागिपरेकी छिन् ।
लाक्पाको आयाम एक सफल पर्यटन व्यवसायी, ट्रेकिङ गाइड, प्रशिक्षक, माउन्टेन एकाडेमीको अध्यक्ष मात्र नभएर लेखन क्षेत्रमा पनि फैलिएको छ । त्यसैले त आफ्नो व्यथालाई कथा बनाएर कलम मार्फत् प्रस्फुटन गरेकी उनी शेर्पा समुदायको पहिलो उपन्यासकार पनि हुन् ।
धैर्यता, साहस, जुझारुपन, संघर्ष र सफलताका अनुभवले भरिपूर्ण लाक्पाको जीवनले सिकाउँछ, ‘आत्मबल हुने हो भने असम्भव लाग्ने हरेक कुरा सम्भव बन्दै जान्छन् ।’ उनको जीवन, अनुभव र भोगाइका बारेमा जान्नलाई भिडियो क्लिक गर्नुहोस् |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?