मौरीले दिएको महजस्तै गुलियो खुसी, श्रेष्ठ दम्पत्तिको लोभलाग्ने सफलता

काठमाडौं ।‘८ बोट लसुन रोपेर, दुईटा बाख्रा र १० वटा कुखुरा पालेर कृषि कर्म हुँदैन’ मौरीपालनबाट वार्षिक ५० लाखभन्दा बढी आम्दानी गरिरहेका श्रेष्ठ दम्पतिले व्यवहार गर्दै जाँदा बुझेको गाँठी कुरो हो यो ।

किसान कर्ममा विश्वास गर्ने व्यक्ति हो । तर नेपालको परिप्रेक्ष्यमा किसानको परिभाषा बदलिएको छ । किसान यस्तो व्यक्ति जो दुख गर्छ तर मिहिनेत बमोजिमको फल पाउँदैन । तर अहिले समय फेरिएको छ ।

यो भएन उ भएन भन्नुभन्दा कसरी गर्न सकिएला त भनेर कृषिमै अहोरात्र खटिनेहरु पनि छन् । हो, ललितपुरको धापाखेल निवासी धर्मराज श्रेष्ठ र उनकी पत्नी सरिताले प्रमाणित गरेका छन् कि आजका किसान कुटो, कोदालो र गोठमा सीमित छैनन् । कृषिमा भित्रिएका नयाँ नयाँ प्रविधि र आधुनिक तौरतरिकासँग चिरपरिचित छन् र ‘हार्ड वर्क’ भन्दा ‘स्मार्ट वर्क’मा विश्वास गर्छन् ।

मौरीपालन धर्मराजको पुख्र्यौली पेशा हो । आफ्नै बुबाको पाइलालाई पछ्याउँदै उनले करिब १ दशकअघि ललितपुरस्थित धापाखेलमा आफ्नै मौरी फार्म खोले । सरिताले पनि आफ्ना पतिको व्यवसायमा भरपूर साथ दिइन् । अहिले चितवन र ललितपुरमा ‘माउन्टेन बी कनसर्न’ र ‘नेपाल बी कन्सर्न’ दुईवटा मौरी फार्म सम्हालिरहेका छन्, श्रेष्ठ दम्पत्ति ।


दुइवटा फार्ममा करिब ७ सय घार मौरी छन् । प्रत्येक घारबाट एकपटकमा बढीमा ६० किलोसम्म मह उत्पादन हुन्छ । यसर्थमा महबाट मात्रै वार्षिक ५० लाखभन्दा बढी आम्दानी हुन्छ । मौरीको मह मात्र नभएर मैन, मौरीले बोकेर ल्याउने पोलन, मौरी राख्ने फ्रेम र घार, रानी मौरी लगायत मौरीसँग सम्बन्धित सबै सामाग्रीहरु बिक्री हुन्छ यस फार्मबाट ।
यसर्थमा श्रेष्ठ दम्पत्तिले मौरीमार्फत् महजस्तै मीठामीठा सपनाहरु साकार गरेको छ । आफ्नो मात्र नभएर फार्ममा कार्यरत १२ जना कर्मचारीको पनि ।

मिहिनेत र लगनशीलतालाई आफ्नै राष्ट्रमा पोखाउन सके एउटा सामान्य किराले पनि हाम्रो जीवन धान्न सक्छ भनेर प्रमाणित गरेका छन् धर्मराज र सरिताले । करेसा बारीमा एक झुप्पा लसुन, दुई छाक साग फलाउने भन्दा पनि अबको पीढिले टनको मात्रामा उत्पादन गर्न सके आफूलाई र देशलाई पनि फाइदा हुने उनीहरुको बुझाइ छ ।

श्रेष्ठ दम्पत्तीको सफलताको सूत्र के हो ? कसरी एउटा कीरा मार्फत् उनीहरुले करोडौंको व्यवसाय स्थापना गरेका छन् भनेर जान्न भिडियो क्लिक गर्नुहोस्:-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?