३ दशकदेखि पत्रिकाको पहिलो पृष्ठमा, कार्टुनिस्ट अविन यसरी बनाउँछन् कार्टुन चित्र

कार्टुनलाई हतारको चित्रकला पनि भनिन्छ । अन्य चित्रजस्तो नदेखिएपनि यसले पार्ने प्रभाव उत्तिकै चोटिलो हुन्छ भनेर पत्रपत्रिकाको पहिलो पृष्ठको एक कुनामा प्रकाशित हुने कार्टुन चित्रले पनि प्रष्ट्याउँछ ।

बिहानै चियाको चुस्की लिँदै पत्रपत्रिका पढ्ने आदत भएका व्यक्ति होस् या फुर्सदका वेला मात्रै पत्रिका पल्टाउने जमात अथवा पत्रिकामा चित्र र रङ्ग मात्रै हेर्न मनपराउने बालबालिका, कार्टुन चित्र सबैको प्रिय हुन्छ । लगभग ३ दशकदेखि त्यही कार्टुन बनाएर पाठकलाई हँसाउने र समाजका विकृति, विसङ्गतिमा प्रहार गर्ने गरिरहेका छन् अविन श्रेष्ठले ।

अविनलाई नचिन्ने पाठक विरलै होलान् । उनलाई नचिन्नेले पनि उनका कार्टुनलाई भने पक्कै चिन्छन् । कान्तिपुर पत्रिका पढ्दा अविनका कार्टुन नछुटाउने र कार्टुन हेर्नकै लागि कान्तिपुर पत्रिका पल्टाउने जमात पनि छ यहाँ । शब्दले नै देशविदेशका घटना, विकृति, विसङ्गति माथि चोटिलो प्रहार गर्ने पत्रिकामा उनका कार्टुनले छुट्टै स्वाद दिन्छन् । एउटा चित्रले हजार शब्द बोल्छ भनेझैं कतिपय अवस्थामा उनको कार्टुनले तत्कालीन समाजको एउटा समग्र कथा चित्रण गर्छ ।

सामान्य गाईजात्रे पत्रिकामा कार्टुन बनाएर शुरु भएको अविनको यस यात्राले उनलाई नागरिक, राजधानी, हिमालय टाइम्स, समय आदिजस्ता पत्रिकामा डो¥याउँदै अहिले कान्तिपर दैनिकसम्म ल्याइपु-याएको छ । पत्रिकामा मात्र नभएर बाल पुस्तक, म्यागेजिन आदिमा समेत अविनले बनाएका कार्टुन छन् ।

व्यापारिक पृष्ठभूमि भएको परिवारबाट आएका अविनको परिवारमा कला क्षेत्रमा लाग्ने उनी मात्रै हुन् । चित्रकलाको महत्व खासै नबुझ्ने त्यो समयमा यही विषय लिएर पढ्नु र यसैमा जीवन समर्पण गर्छु भन्ने आँट जुटाउनु चानचुने कुरा थिएन । तर, त्यही निर्णयका कारण आज उनले सम्मानित र सुखमयी जीवन बिताउने अवसर पाएका छन् ।

कार्टुन बनाउने काम निकै रिस्की भएको अविनको भनाइ छ । कहिलेकाहीँ दिनभरि सोच्दासमेत के बनाउने भनेर ठम्याउन नसक्ने, कहिले कार्टुन बनाएकै कारण धम्कीहरु आउने अहिलेका कार्टुनिस्टले भोग्नुपरेको साझा समस्या हो । फेरि आफ्नो कार्टुनमा केही न केही भेराइटी दिनैपर्छ भन्ने अविनको मान्यता पनि छ । तर, कार्टुनको परिधि अन्य चित्रजस्तो विशाल नभएकाले यसमा भेरिएसन दिन गाह्रो हुने बताउँछन् उनी ।

आफ्नो रुचिलाई सपनामा परिणत गरेर त्यसैमा जीवन पाएका अविन चाहन्छन् हरेक व्यक्तिले आफ्नो इच्छाअनुसारको काम गरोस् र त्यसवापत सम्मान र सुरक्षित भविष्यको ग्यारेन्टी पाओस् ।

आखिर कार्टुनिस्ट अविनले कसरी बनाउँछन् कार्टुन चित्र ? जान्न चाहनुहुन्छ भने भिडियो लिंक क्लिक गर्नुहोस् :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?