कति पाए म्यादीले ?

काठमाडौँ , १० पुस — प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी सुरक्षामा खटिएका म्यादी प्रहरीको बिदाइका क्रममा दोलखा र कालिकोटमा झडप भयो । दुवै घटनामा म्यादी प्रहरीको असन्तुष्टि थियो– दिने भनिएको सेवासुविधा प्रहरीले कटौती गरेर दियो तर प्रहरी प्रवक्ता मनोज न्यौपाने म्यादी प्रहरीमाथि तलब र सुविधामा कहीं पनि कुनै भेदभाव नगरिएको बताउँछन् । उनका अनुसार म्यादी प्रहरीले पाउने स्थानीय भत्ता (दुर्गम भत्ता) र रासन भत्ताबापत पाउने रकम जिल्लाको भौगोलिक अवस्थितिअनुसार फरक–फरक तोकिएको छ न्यौपानेले देशैभर परिचालित सबै म्यादी प्रहरीले ५५ दिनको मासिक तलब १७ हजार २ सय ३० रुपैयाँका दरले पाएका छन् । यसैगरी, उनीहरूले विशेष भत्ताबापत प्रतिदिन २ सय ५० र खाजाबापत प्रतिदिन २ सय ५० का दरले ७ दिनको जम्मा ३ हजार ५ सय रुपैयाँ पाएका छन् । त्यस्तै, पोसाक किन्न ४ हजार रुपैयाँ र आतेजाते भाडाबापत १ हजार रुपैयाँ पनि देशभरका लागि समान हुन्छ प्रवक्ता न्यौपानेका अनुसार स्थानीय भत्ता र रासन भत्ता भने जिल्लाअनुसार फरक तोकिएको थियो । ‘यही कारण कुल पाउने रकम फरक भएको हो,’ उनले भने, ‘फलानो जिल्लाकाले यति रकम पाए, हामीले किन कम पायौं भन्नु गलत हुन्छ । किनकि स्थानीय भत्ता र रासनबापत पाउने रकम जिल्लाअनुसार फरक हुन्छ ।’ उनका अनुसार झापामा म्यादीलाई प्रतिदिन रासन भत्ता एक सय ५७ रुपैयाँ तोकिएको छ भने इलाममा एक सय ६८ । कालिकोटमा यही भत्ता २ सय ७१ छ । रसुवामा परिचालित म्यादीले एक सय ९२ रुपैयाँ प्रतिदिनका दरले रासनभत्ता पाएका छन्, कान्तिपुर दैनिकमा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?