एकताको विषयले माओवादी केन्द्रमा भाडभैलो

काठमाडौँ, ८ पुस – पार्टीको नेतृत्व तहबाट नेकपा (एमाले)सँग एकीकरणको प्रक्रियालाई तीव्र ढङ्गले अघि बढिरहँदा नेकपा (माओवादी केन्द्र)का केही नेताहरूले असहमति प्रकट गरेका छन् । पार्टीका कार्यालय सदस्य गोपाल किराँती र सचिवालय सदस्य विश्वभक्त दुलाल (आहुति) को नेतृत्वमा असन्तुष्ट नेताहरूले छुट्टाछुट्टै अभियान थालेको खबर गोरखापत्रमा छ छलफल नगरी नै पार्टी एकीकरण गर्न लागिएको भन्दै दुवै जनाले असन्तुष्टि जनाएका हुन् । स्रोतका अनुसार एकीकरणअघि पार्टीको तल्लो तहसम्म छलफल गर्न पाउनुपर्ने भन्दै किराँतीले महाधिवेशनको माग गरेका छन् । किराँतीले महाधिवेशनको माग गर्दै पार्टी केन्द्रीय कार्यलयमा पत्रसमेत दर्ता गरेको उनी निकट एक नेताले जानकारी दिए । यद्यपि यसबारे पार्टीले कुनै निर्णय गरेको छैन अर्का नेता आहुतिले भने छलफलको कुनै सम्भावना नै नरहेको भन्दै फरक कम्युनिस्ट आन्दोलन बचाउनुपर्छ भन्नेहरूबीच छुट्टै बहस सुरु गरेको बताए । ‘पार्टी एकीकरणको प्रक्रिया र विचारबारे कुनै छलफल नगरी एकैचोटि हामी एक भइसक्यौँ भन्नु भनेको कम्युनिस्ट आन्दोलनको विघटन हो,’ आहुतीले भने , ‘त्यसैले कम्युनिस्ट आन्दोलन बचाइराख्नुपर्छ भन्नेहरूबीच हामीले बहस सुरु गरेका छौँ । ’किराँतीले पार्टीको मार्गदर्शक सिद्धान्तको रूपमा रहेको ‘माओवाद’ एकीकरण प्रक्रियामा छाड्न लागिएको तथा उत्पीडित समुदायको पहिचानको मुद्दालाई राजनीतिक कार्यक्रमबाट हटाउने योजना बनाइएको भन्दै विरोध गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?