नवराज सिलवालबारे मुख्य सचिव र काठमाडौं प्रहरीबीच यस्तो छलफल

काठमाडौं, ७ पुस- पूर्वडीआईजी नवराज सिलवालविरुद्ध ‘किर्ते कागजात’ मुद्दामा कसरी अघि बढ्ने काठमाडौं प्रहरी परिसरले मुख्य सचिव लोकदर्शन रेग्मीसँग परामर्श गरेको छ । रेग्मी आफैंले बिहीबार परिसर प्रमुख एसएसपी रविन्द्र धानुकलाई आफ्नो कार्यकक्षमा बोलाएर परामर्श गरेका हुन् प्रहरी स्रोतका अनुसार सिलवाललाई पक्राउ गरेर अनुसन्धान गर्ने वा पक्राउ नगरी अनुसन्धान सकिएपछि मुद्दा बुझाउँदा पक्राउ गर्नेबारे मुख्यसचिव रेग्मी र धानुकबीच छलफल भएको थियो, अन्नपूर्ण पोस्टमा खबर छ । रेग्मीले महान्यायाधिवक्ताको कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयसँग छलफल गरेर अघि बढ्न धानुकलाई सुझाएका थिए । फौजदारी मुद्दामा कानुनतः अभियोग दर्ता भएपछि पक्राउ नै नगरी अनुसन्धान गर्न प्रहरीलाई छुट दिएकाले तत्काल सिलवाललाई पक्राउ गर्ने मनस्थितिमा परिसर छैन । स्रोतअनुसार उजुरी दर्ता गर्दा किटानी जाहेरी नभएकाले पनि किर्ते कस्ले गर्‍यो पुष्टी नहुँदा सिलवाल तत्काल पक्राउ गर्न नहुने तर्क धानुकले राखेका थिए तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको पूर्ण इजलासले कार्यसम्पादन मूल्यांकन (कासमू) मा सिलवालको बढी अंक देखाएको र प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीसहितको पूर्ण इजलासले प्रकाश अर्यालकै कासमू अंक बढी देखाएको अवस्थामा कुन कार्यसम्पादन ठीक भन्ने विषयको छानबिनमा परिषद् केन्द्रीत हुने भएको छ । किर्ते प्रकरणमा प्रधानन्यायाधीश पराजुलीसहितको पछिल्लो इजलासले घुमाउरो भाषामा सिलवालले नै किर्ते गरेको संकेत गरेको छ । तर प्रहरीले सरकार परिवर्तन हुने बेलामा सिलवाललाई पक्राउ गरेर अनुसन्धान गर्दा नयाँ सरकारले त्यसलाई उल्टाए प्रहरी पंगु हुने कतिपय अनुसन्धान अधिकृतको तर्क छ । मुख्य सचिवसँगै रहेका प्रहरी महानिरीक्षक प्रकाश अर्यालले किर्ते छानबिनमा भएका विषय प्रचारबाजी नगर्न र गोप्य अनुसन्धान गर्न प्रमुख धानुकलाई सुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?