पार्टीलाई कोठामा सिमित गराउने नै पराजयको भागिदारः कांग्रेस नेता सिंह

काठमाडौँ, ६ पुस ।नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधानअनुसार चल्न नसक्दा निर्वाचनमा सोचेजस्तो परिणाम ल्याउन नसकेको बताउनुभएको छ । नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौँ शाखाले प्रतिनिधी सभाको निर्वाचनमा काठमाडौँ क्षे त्र नं १ मा विजयी हुनुभएका सिंहलाई आज यहाँ ‘बधाई तथा सम्मान’ दिन राखेको कार्यक्रममा नेता सिंहले पार्टी संस्थागत ढंगले चल्न नसक्दा पराजय भोग्नुपरेको बताउनुभयो पूर्व महामन्त्री समेत रहनुभएका नेता सिंहले जनतालाई पार्टी मन परेपनि नेतृत्व मन नपरेका कारण धेरै स्थानमा हार व्यहोर्नुपरेको बताउनुभयो । “पार्टीभन्दा नेता र व्यक्ति ठूलो हुन सक्दैन, त्यसैले पार्टी सुधार आवश्यक छ,”– उहाँले भन्नुभयो । पार्टीभित्र पदाधिकारी, केन्द्रीय सदस्य र विभागले पूर्णता पाउन नसक्नु दुःखद भएको उहाँको भनाई थियो । नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले मजदूरको जगमा उभिएको पार्टी काँग्रेस भएकाले मजदूरको समस्या समाधानका लागि पार्टीले विशेष चासो दिनुपर्ने बताउनुभयो । “मजदूरको समस्या समाधान गर्न सकेमात्र पार्टी बलियो हुन्छ,”– उहाँले भन्नुभयो । ट्रेड युनियन काठमाडौँ शाखाका अध्यक्ष गणेश भट्टराईले श्रमिकको अधिकार स्थापना गर्नका लागि आफुहरु सँधै क्रियाशिल रहेको भन्दै यसलाई पार्टीको सहयोग आवश्यक रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?