सामाजिक सञ्जालको दुरुपयोग गरी अपराधका घटना बढ्दो

चितवन, ६ पुस । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी हुने अपराधका घटना बढ्दै गएका छन् । जिल्लामा गत वर्ष दुईवटा मुद्दा दर्ता भएकामा यस वर्षको चार महिनामा पाँचवटा मुद्दा दर्ता भइसकेको छ जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार अहिले सामाजिक सञ्जालको प्रयोग गरेर विभिन्न किसिमका घटना घटाउने गरिएको छ । पछिल्लो समय आएर फेसबुक, ट्विटर, इमो, भाइबर लगायतका सामाजिक सञ्जालबाट आपराधिक क्रियाकलाप बढ्दै गएको हो । सामान्य निवेदन मात्र कार्यालयमा दैनिक दुईदेखि तीनवटा आउने गरेको तथ्यांकले देखाएको छ । सामाजिक सञ्जालका माध्यमबाट सयाँै युवायुवतीको भविष्य बिग्रिएको छ भने कयौँ मानिस ठगिएका छन् । सामाजिक सञ्जालका कारण अहिले बढी मात्रामा युवा पुस्ता प्रभावित बन्दै आएको थापाले बताए सामाजिक सञ्जालका कारण विश्व साँगुरिदो घरमा रहेको भन्दै थापाले यसको प्रयोग गर्ने बढी मात्रामा युवापुस्ता रहेको र उनीहरुमा बढी मात्रामा यो समस्या देखिने गरेको बताए । यसको दुरुपयोग गर्दै कतिपयले ठग्ने, अश्लील फोटो तथा भिडियोको माध्यमले चरित्र हत्या गर्ने जस्ता काम गरेको थापाले बताए । चेतनाको कमीका कारण सामाजिक सञ्जालबाट आपराधिक क्रियाकलाप हुने गरेको भन्दै यस्तालाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाही गरिने उनले बताए कानुनी रुपमा यस्तो अपराध गर्नेलाई एक लाखदेखि दुई लाखसम्म जरिवाना, २ वर्षदेखि ५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ । जिल्लामा सामाजिक सञ्जालको मुद्दा दायर गर्न पाइँदैन । यो मुद्दा काठमाडौँ जिल्ला अदालतले मात्र हेर्ने गरेको छ । जसका कारण जिल्लामा आएका सामान्य निवेदनमाथि आपसी सहमतिमा टुङ्गाउने गरिएको छ । गम्भीर विषय भएमा काठमाडौँ पठाइने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?