अलैँचीलाई विषादीमुक्त बनाउन जोड

ताप्लेजुङ, ६ पुस । अलैँची खेतीतर्फ कृषकको आकर्षण बढे सँगै ताप्लेजुङमा यसको उत्पादनमा वृद्धि भएको छ ।

यस वर्ष दुई हजार ९४० मेट्रिक टन अलैँची उत्पादन भएको छ । यो पछिल्लो ६ वर्ष यताकै बढी उत्पादन हो । गत वर्ष दुई हजार ५२० मेट्रिक टन अलैँची उत्पादन भएको थियो चालु आर्थिक वर्ष २०७४/७५ मा चार हजार २०० हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिएको छ । हालको बजार भाउअनुसार यस वर्षको उत्पादनले जिल्लामा दुई अर्ब बढी भित्रने जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी मित्रलाल पौडेलले बताए ।

अहिले जिल्लामा अलैँची प्रतिमन (४० किलो) २८ हजारका दरले कारोबार भइरहेको छ । प्रमुख नगदेबालीका रुपमा परिचित अलैँची खेतीतर्फ कृषकको आकर्षण बढेको र खेती व्यवस्थापनमा समेत सुधार हुँदै गएकाले उत्पादनमा वृद्धि भएको पौडेलले बताए ।

केही वर्षअघि अचानक भएको मूल्य वृद्धिपछि अधिकांश कृषकले अन्न उब्जनी हुने खेतबारी मासेरै अलैँची खेती गरेका थिए । अहिले पनि पाखो जग्गादेखि करेसाबारीसम्म सिँचाइको व्यवस्थापन गरेर किसानले अलैँची खेती विस्तार गरिरहेका छन् कार्यालयको तथ्यांकअनुसार आव २०६९/७० मा दुई हजार ६५५ हेक्टरमा गरिएको अलैँची खेतीबाट एक हजार ७२६ मेट्रिक टन, आव २०७०/७१ मा तीन हजार ११२ हेक्टरमा एक हजार ६८०, आव २०७१/७२ मा तीन हजार ९५० हेक्टरमा एक हजार ४१०, आव २०७२÷७३ मा चार हजार १५० हेक्टरमा दुई हजार ४९० तथा आव २०७३/७४ मा चार हजार २०० हेक्टरमा दुई हजार ५२० मेट्रिक टन अलैँची उत्पादन भएको थियो बर्षेनी खेती विस्तारसँगै उत्पादनमा समेत वृद्धि हुँदै गएको छ । अघिल्ला वर्षमा रोग लागेर सखाप भएको बगानमा पुनः नयाँ बिरुवा लगाएपछि र खेती व्यवस्थापनमा थप मिहेनत गरेपछि उत्पादन बढेको कृषकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?