प्रदर्शनीमा राखिएको नमुना धरहरा हेर्न आउनेको ओइरो

कपिलवस्तु, १ पुस । कपिलवस्तुको जितपुरमा जारी प्रदर्शनीमा राखिएको नमुना धरहरा हेर्न आउनेको ओइरो लागेको छ । भूकम्पले ध्वस्त पारेको धरहराको झल्को दिने गरी राखिएको नमूना धरहरा हेर्नकै लागि दिन प्रतिदिन दर्शकको भिड लाग्ने गरेको महोत्सवका निर्देशक दिनेश क्षेत्रीले जानकारी दिए भूकम्पले धरहरा ढलेपछि कहिले,कस्तो बन्ला भन्ने सबैमा कौतुहलता जागिरहेको बेला प्रदर्शनीमा पुरानो धरहराको झल्को दिनेगरी महोत्सवको सचिवालय नजिकै बनाइएको सुन्दर नमूना धरहराले दर्शकको मन तानिरहेको छ । शुक्रबारसम्म जिल्ला बाहिर र भित्रका गरी दश हजार बढी दर्शकले प्रदर्शनीको अवलोकन गरिरहँदा दर्शकको पहिलो नजर धरहरामा जाने गरेको पाइएको महोत्सवका संयोजक राजकुमार खाँणले बताए यस वर्षको मुख्य आर्कषका रुपमा धरहरा रहेको दर्शकले नै बताउने गरेका छन् । प्रदर्शनीमा सबै कुरा विगतकै जस्तै भए पनि यसपाली राखिएको धरहरा हेर्नकै लागि आफूहरु आएको बताएका छन् । वाणगंगा– ९ पडरियाकी लक्ष्मी अर्यालले भन्नुभयो, “धरहरा हेर्ने सारै मन थियो, हेर्न नपाइ ढ¥यो त्यसैले यहाँ हेर्न आइकी छु ।” उहाँ मात्र होइन यहाँ आउने धेरैको भनाइ उस्तै छ “एक्काइसौं शताब्दीको आवश्यकता, युवा उद्यमशीलता” नवौं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी यही मंसिर २३ बाट शुरु भएको हो । महोत्सव पुस ५ गतेसम्म जारी रहनेछ । युवाको संगठन वाणगंगा वेलफेयर सोसाइटीले आयोजना गरेको महोत्सवबाट पाँच करोड बढीको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?