२०७४, १ पुष शनिवार ०२:२२

चर्चित नेता जसले एक हजार कम अन्तरले हारे


प्रकाशित मिति : २०७४, १ पुष शनिवार ०२:२२

एमाले उपाध्यक्ष वामदेव गौतम बर्दिया १ मा कांग्रेसका सञ्जय गौतमसँग ७५३ मतले पराजित भए । कांग्रेस बर्दिया जिल्ला सभापति रहेका सञ्जयले वाम गठबन्धन बनाउन भूमिका खेल्ने वामदेवलाई पराजित गरेका हुन् । सञ्जयले ४४ हजार ८२९ र वामदेवले ४४ हजार ७६ मत ल्याए । मोरङ ६ मा कांग्रेस नेता शेखर कोइराला एमाले नेता लालबाबु पण्डितसँग ६७५ मतले पराजित भए । मोरङमा शेखरले ३३ हजार २६६ र पण्डितले ३३ हजार ९४१ मत ल्याए । काठमाडौं ८ मा कांग्रेस नेता नवीन्द्रराज जोशी ४४४ मतले एमालेका जीवनराम श्रेष्ठसँग पराजित भए । ०७० मा यही क्षेत्रबाट जितेका जोशीले १२ हजार ९५३ मत ल्याउँदा श्रेष्ठले १३ हजार ३९७ मत प्राप्त गर्दै जित दर्ता गरे । निर्वाचनको मुखैमा कांग्रेस फर्किएका विजयकुमार गच्छदारले रोचक जित हात पारे । सुनसरी ३ मा गच्छदारले एमाले उम्मेदवार भगवती चौधरीविरुद्ध ३२१ मतको रोचक जित हात पारेका हुन् । गच्छदारले ३८ हजार ९७२ र चौधरीले ३८ हजार ६५१ मत प्राप्त गरिन् । कञ्चनपुर ४ बाट कांग्रेस उम्मेदवार रमेश लेखक २५८ मतले पराजित हुन पुगे । मतगणना अवधिभर नै एमालेका दीपकप्रकाश भट्टसँग थोरै मतको घटबड भइरहँदा अन्ततः लेखक २५८ मतले पछि परेका हुन् । भट्ट २६ हजार तीन सय ६४ मत ल्याएर विजयी हुँदा लेखकले २६ हजार एक सय ६ मत मात्र प्राप्त गरे । उदयपुर १ को प्रतिनिधिसभामा कांग्रेस नेता डा. नारायण खड्का ५४८ मतले विजयी बने । उनले ३३ हजार १४२ मत र एमालेकी मञ्जुकुमारी चौधरीले ३२ हजार ५९४ मत ल्याइन् । चौधरीले ०७० को संविधानसभा निर्वाचनमा २३ मतले पराजय बेहोरेकी थिइन् ।नयाँ पत्रिकामा खबर छ |

प्रतिक्रिया दिनुहोस