पर्यटक लोभ्याउँदै ऐतिहासिक जुरे गुफा

पाल्पा, २९ मंसिर । प्राकृतिक छटाले भरिपूर्ण निस्दी गाउँपालिका–२ सहलकोटमा अवस्थित ऐतिहासिक तथा पर्यटकीय क्षेत्र जुरे गुफामा पुग्ने जोकोही पनि प्रकृतिसँग रमाउने गर्छन् जुरे गुफा क्षेत्र साँच्चिकै प्राकृतिकरुपमा मनमोहक र सुन्दर रहेको छ । पौराणिक समयमा भुरे राजाहरुले राजकाज गरेको यस जुरे गुफामा पुगेपछि जोकोही पनि प्रकृतिसँग रमाएर समय बिताउने गरेको पाइन्छ यसको पूर्व दक्षिणमा नवलपरासी, उत्तरमा कालीगण्डकी, तनहुँ, कास्की, लमजुङ, उत्तर पश्चिममा स्याङ्जा, पश्चिम भेग एवं सहलकोटको फेदीमा रामपुर उपत्यका पर्छ । यहाँबाट धौलागिरि, माछापुच्छ«े हिमालको लोभलाग्दो दृश्य अवलोकन गर्न सकिन्छ रामपुरबाट जुरे गुफासम्म जाने सडक निर्माण भएपछि अहिले यहाँ पर्यटकको आकर्षण बढ्न थालेको हो । यहाँको हरियाली वनपाखा, प्राकृतिक मनोरम दृश्यले जोकोहीलाई मनमोहित पारिरहेको हुन्छ । जुरे गुफा जुरे लेकका नामले समेत परिचित छ । जुरे गुफा क्षेत्रमा झण्डै ५०को हाराहारीमा साना–साना गुफा रहेका छन् विसं २०३८ मा यस क्षेत्रका स्थानीयवासीले चमेरा मार्न जंगलमा जाँदा गुफा फेला परेको कथन छ । गुफाभित्र नाग, सर्प, भगवान्का विभिन्न आकृति, तरबार जस्तो आकृति, केराको खाप, गाईको थुनहरुको आकृति देखिन्छ । दुई तलामा रहेको यस गुफाको माथिल्लो तला १० मिटर र तल्लो तला झण्डै ६० मिटरभन्दा बढी लम्बाइको रहेको छ सहलकोटको उच्च भेगमा वनभित्र रहेको यस गुफामा पौराणिक समयमा भुरे राजाहरुले बसोबास गरी आफ्ना विपक्षीहरुसँग यहाँबाट लडाइँ लडेको स्थानीयवासी बताउँछन् । अझै पनि गुफा आसपासका परिसरमा गोलीहरुको अवशेष फेला पर्ने गरेको स्थानीय बासिन्दा गनबहादुर विक बताए रामपुर नगरपालिकाको केन्द्रबाट गाडीमा झण्डै दुई घण्टाको समयमा जुरे गुफा पुगिन्छ । यहाँ एक महिनामा झण्डै ३०० देखि ४००को हाराहारीमा पर्यटक भित्रने गरेका छन् स्थानीय ठूलो पहाड सामुदायिक वन समूहका उपभोक्ताले गुफा आसपासका क्षेत्रमा सौन्दर्यता बढाउन तेजपत्ता, अम्रिसोलगायतका बोटबिरुवा रोपण गरेपछि यस क्षेत्र पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको वन समूहका अध्यक्ष रामबहादुर सारु बताए “यसको भौतिक पूर्वाधार विकास र विस्तार गर्न सकेको खण्डमा यसलाई नेपालकै पर्यटकीय गन्तव्यस्थलका रुपमा चिनाउन सकिन्छ”, सारुले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?