वाम गठबन्धनले जनतासँग गरिएका वाचा पूरा गर्नेछ : नेम्वाङ

इलाम, २७ मंसिर । नेकपा (एमाले)का नेता एंव इलाम क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङले वाम गठबन्धनले जनतासँग गरिएका वाचा पूरा गर्ने बताएका छन् ।

मतदातालाई धन्यवाद ज्ञापन गर्न इलामको फाकफोकथुम गाउँपालिकास्थित कोल्बोटेमा आयोजित कार्यक्रममा उनले भने, “हामी जनतासँग निर्वाचनपूर्व गरिएका वाचा पूरा गर्छाैं, जनतालाई आश्वासन होइन, विकास दिन्छौँ ।”

“तपाईंहरूको अपार माया र विश्वासले हामीले निर्वाचन जितेका हौँ, तपाईंहरूले विकास चाहनुभएको छ, हामी त्यो पूरा गरेरै छाड्छौँ”, नेता नेम्वाङले भने

उनले इलामको २ नं क्षेत्र कर्णाली जस्तै अविकसित छ, यहाँ विकास निर्माण गरेर सुन्दर बनाउने जिम्मा पाएका छौँ, विकास र समृद्धि यस क्षेत्रको आवश्यकता हो भन्दै राष्ट्रलाई आर्थिक समृद्धिको दिशातर्फ उन्मुख गराउने प्रतिवद्धता व्यक्त गरे ।

इलाम क्षेत्र नं २ (ख) का प्रदेशसभा सदस्य धीरेन्द्र शर्मा (रमण)ले जनताले चाहेको आर्थिक र समृद्धिको शुरुवात गरिने बताउँदै विकास पूर्वाधारलाई पहिलो प्राथमिकता राखिने धारणा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?