प्रत्यक्षतर्फ बैतडीमा १२ हजारभन्दा बढी मत बदर

बैतडी, २६ मंसिर – मंसिर १० गते भएको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ १२ हजारभन्दा बढी मत बदर भएको छ । प्रतिनिधिसभातर्फ ७६ हजार १७३ मत खसेकामा सात हजार ५४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ प्रदेशसभा ‘क’ मा ३८ हजार १८ मत खसेकामा तीन हजार १३६ मत बदर भयो भने (ख) मा ३८ हजार १५५ मत खसेकामा दुई हजार ५९० मत बदर भएका छन् । समग्रमा प्रत्यक्षतर्फ प्रदेशसभा र प्रतिनिधिसभामा कूल खसेको मतमध्ये आठ दशमलव नौ प्रतिशत मत बदर भएको छ मतदाता शिक्षा प्रभावकारी नहुँदा बदर मतको संख्या बढेको हो । जिल्लामा १८२ मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिए पनि स्वयंसेवक नै मतदाता शिक्षाका विषयमा अलमल हुँदा बदर मतको संख्या बढेको स्थानीयवासीले बताएका छन् स्थानीय तहको निर्वाचनमा दुई दशमलव ३५ प्रतिशतमात्रै मत बदर भएको थियो । ढिलो गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुनुले पनि बदर मतको संख्या बढेको हुन सक्ने मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमको भनाइ छ । बदर मतले मतपरिणाममा समेत असर पुग्ने जगन्नाथ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पृथ्वीराज अवस्थी बताउछन मतदाता शिक्षा स्वयंसेवकहरु औपचारिकताका लागि मात्रै गाउँघरमा पुग्ने गरेकाले पनि मतदाता शिक्षा प्रभावकारी नभएको हो । समानुपातिकतर्फको मतगणना जारी रहँदा प्रत्यक्षतर्फको भन्दा समानुपातिकमा बढी मत बदर भएको मुख्य निर्वाचन अधिकृत गौतमको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?