देउवाले यसरी जोगाए किल्ला

काठमाडौँ, २५ मङ्सिर- अधिकांश वरिष्ठ नेताहरूले पराजय भोगिरहेका बेला कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा २०४८ देखिको आफ्नो किल्ला जोगाउन सफल भएका छन् । ७२ वर्षीय देउवाले २८ हजार ४४ मतसहित अपराजित यात्रा कायम राखे । प्रतिनिधिसभा सदस्यमा छैटौं पटक जित हात पारेका उनले माओवादी केन्द्रका सचिवालय सदस्य खगराज भट्टलाई ६ हजार ९ सय २९ मतान्तरले हराए । भट्टले २१ हजार एक सय १५ मत पाएका थिए देउवालाई गृह जिल्लाबाट चुनाव जित्न जम्मा दुई पटक केही कठिन अवस्था आइपर्‍यो । पहिलो संविधानसभा निर्वाचन, ०६४ र अहिले । ०४८, ०५१ र ०५६ मा भने उनले सहजै जित हात मात्र पारेनन्, देशभरिमै सबैभन्दा बढी मतान्तरमा विजयी हुने नेता बन्ने अवसर पाए । ०४८ को आम निर्वाचनमा त उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत पाएका थिए विद्यार्थी जीवनमै उच्च शिक्षा अध्ययनका सिलसिलामा डडेलधुराको असिग्राम रुवाखोलाबाट राजधानी छिरेका देउवा ०४८ मा मात्र चुनाव लड्न गृहजिल्ला आएका थिए । ‘शेरबहादुर देउवा पञ्चायतकालमा जिल्लाभर चर्चित नाम थियो तर भौतिक रूपमा उनलाई देख्ने विरलै थिए । उनी पञ्चायत व्यवस्थाविरुद्ध लडेको र जेल परेका कुराहरू पुग्थे गाउँघरमा । देउवा कस्तो होला भन्ने धेरैमा जिज्ञासा हुन्थ्यो,’ स्थानीय देवराज जोशी पण्डितले भने, ‘त्यसैले उनीप्रति एउटा पिढीको आकर्षण रहँदै आयो । अहिले तेस्रो पुस्तासम्म पनि देउवाको आकर्षण सकिएको छैन । अपराजित यात्रामा उनलाई त्यही व्यक्तित्वको लाभ प्राप्त भइरहेको छ ।’डडेलधुरा प्रजातन्त्रका लागि योद्धा जन्माउँदै आएको जिल्ला हो । भीमदत्त पन्त, द्वारिकादेवी ठकुरानी, एनडी प्रकाश चटौतजस्ता प्रजातन्त्रका सेनानीकै उत्तराधिकारीका रूपमा आफ्नो छाप पारेका छन् जिल्लावासीमाझ देउवाले । ०३६ को जनमतसंग्रहमा डडेलधुराबाट बहुदलको विजय भएको थियो । ०४२ को बमकाण्डमा देउवाको नाम पनि चर्चित भएको थियो । ०५१ को मध्यावधि चुनावमा राष्ट्रिय जनमोर्चाका खेमराज भट्ट ‘मायालु’ देउवाका लागि चुनौती बने । ‘मायालु’ एमाले प्रवेश गरे आफूलाई सधैं अप्ठेरो पर्न सक्ने देखेर देउवाले उनलाई ०५६ मा कांग्रेस भित्र्याए र बर्दियाबाट चुनाव जिताए, कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?