२०७४, २४ मङ्सिर आईतवार १६:०८

देउवाप्रति खनिँदै रामचन्द्रले भने— यो नेतृत्व भएन, अब फेर्नुपर्छ


प्रकाशित मिति : २०७४, २४ मङ्सिर आईतवार १६:०८

काठमाडौं, २४ मंसिर—तनहुँ क्षेत्र नम्बर १ बाट पराजित बनेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले इतिहासकै खराब नतिजा ल्याउनु दुःखद भएको बताएका छन् । उनले गत स्थानीय तह निर्वाचनलगत्तै नतिजामा चिन्ता व्यक्त गर्दै पार्टी बैठकमा राखेको भएपनि सभापति शेरबहादुर देउवा गम्भीर नहुँदा अहिले आएर अवस्था थप खस्किन पुगेको दाबी गरे । ‘स्थानीय चुनावपछि पार्टी बैठकमै अव नयाँ ढंगले अघि बढ्नुपर्छ नत्र हामी दोस्रो तेस्रो तिर जाने खतरा देखियो भनेर भनेको थिएँ’, पौडेलले बीबसी नेपालीसँगको अन्तर्वार्तामा भनेका छन्, ‘ सभापतिले त्यागको भावना राख्नुपर्यो भनेर मैले भनेको थिएँ । तर त्यसको सुनुवाई नहुँदा यस्तो भयो।’पार्टीलाई सुधार गर्न आफूले लगत्तै भएर अभियान चलाउन पनि सक्ने अवस्था रहेको भएपनि पार्टीमा आउन सक्ने विग्रहलाई ध्यानमा राखेर चुप लागेको पनि पौडेलले बताए । पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्नेमा पटक पटक जोड दिएका पौडेलले अब पार्टीको शीर्ष तहमा गम्भीर छलफल गरेर त्यसको कारण खोज्नुपर्ने बताए । नेतृत्वको विकल्पमा तयार हुनुपर्नेमा समेत जोड दिँदै उनले यसमा सभापति पनि तयार हुनुपर्नेमा जोड दिए उनले भने — यसका लागि विशेष महाधिवेशन पनि डाक्नुपर्छ । चित्तबुझ्दो प्रयास हुनुपर्छ । सबैले चाहे युवालाई पनि विकल्प दिन सकिन्छ । मै हुनुपर्छ भन्ने केहि छैन ।’

प्रतिक्रिया दिनुहोस