तिब्बतमा नेपाली हस्तकलाका सामानको व्यापार बढ्दै

ललित सिंह / बझाङ, २२ भदौ ।सदरमुकाम चैनपुरदेखि करिब सात दिन पैदल यात्रा गरी पुगिने काँडा गाविससँग जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोट बजारमा नेपाली फुरु र हस्तकलाका सामानको व्यापार बढ्दै गएको छ ।हिमाली क्षेत्रमा पाइने तिल्याइलो र पाँगरको रुखमा हुने गाँठोबाट बनाइएको काठको भाँडालाई फुरु भनिन्छ । यसलाई तिब्बतमा ‘उडेन कप’को नामले चिनिन्छ । यहाँको विभिन्न जंगलमा पाइने सो काठबाट भाँडा निर्माण गर्नु हुम्ला र बझाङका तामाङ र लामा जातिको पुख्र्यौली पेशा बन्दै आएको व्यापारी कल्पना तामाङ बताउँछिन ।तिब्बतमा जन्म, मृत्यु, विवाहदेखि विभिन्न शुभकार्यमा शौख र शानको प्रतीकका रुपमा लिइने फुरुको व्यापार गर्न हुम्ला र बझाङका अधिकांश व्यापारी अहिले ताक्लाकोटमा पसल खोलेर बसेका छन् ।ताक्लाकोट बजारमा नेपालीले वर्षौंदेखि हस्तकलाका सामान, फुरु, गलैँचा, जडीबुटीलगायत सामान बिक्री गर्दैआएका छन् । उनीहरुले चिनियाँ बजारबाट दैनिक उपभोग्यका सामान, चामल, मैदा र तयारी कपडा नेपालमा ल्याउने गरेका छन् । बझाङबाट यार्सागुम्बा, वनलसुन, कटुकी, सतुवा, पाँचऔँलेलगायत जडीबुटी ठूलो परिमाणमा निकासी हुने गरेको छ । यस्तै निगालोबाट बनेका सामान, मह, घ्यू, छुर्पी, खुर्सानीलगायतका दैनिक उपभोग्य सामान पनि चौरी, भेँडा र खच्चरमार्फत ढुवानी गरी ताक्लाकोटमा बेच्ने गरेको काँडा गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताए ।ताक्लाकोटबाट तिब्बती ब्राण्डको मदिरा आयात हुने गरेको छ । सोही मात्रामा लत्ताकपडा र दैनिक उपभोग्य सामान तिब्बतको उरैभञ्ज्याङ नाका भएर भित्रिने गरेको छ । काँडा गाउँपालिकाका अधिकांश बासिन्दाले ताक्लाकोटबाटै कारोबार गर्ने गरेका अध्यक्ष धामी बताउँछन । बझाङ, दार्चुला र मुगुबाट होजियारीका सामान, नेपाली गलैँचा, बाँस, निगालो, छाला र अन्य हस्तकलाका सामान ताक्लाकोट, लुक्पु, खोचेर, लुकोटलगायत बजारमा बिक्री गर्दै आएका व्यापारी पासाङ लामाले बताए ।नेपाल सरकारले कृषि र पशुजन्य उत्पादनलाई ताक्लाकोटमा सहज पहुँचका लागि पहल गरिदिए सीमावर्ती जिल्लाका बासिन्दा आर्थिक रुपमा समृद्ध हुने लामाको भनाइ छ । तिब्बतमा चुरोट, रक्सी र गुट्खाजस्ता सामान सजिलै निर्यात गर्न दिए पनि तरकारीमा कडाइ गर्ने गरिएको छ ।ताक्लाकोट नजिकै हिन्दू, बौद्ध र बोन्बो धर्मावलम्बीको प्रसिद्ध तीर्थस्थल कैलाश मानसरोवर रहेको छ । भारत, नेपाल र चीनको भूभागसँग जोडिएको यस क्षेत्रलाई पछिल्लो समय त्रिदेशीय व्यापारिक केन्द्रका रुपमा विकास गर्न चिनियाँ सरकारले अत्याधुनिक संरचना निर्माण गरिरहेको छ । हुम्लाको हिल्सा, दार्चुलाको तिङ्कर र बझाङको उरै भञ्जाङ नाका भएर वर्षेनी अर्बौंको आर्थिक कारोबार हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?