भोलि सम्पन्न हुँदैछ ऐतिहासिक चुनाव, मतदानअघि आयोगको पत्रकार सम्मलेन (पूर्णपाठ)

काठमाडौँ, २० मंसिर – पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा चुनाव सम्पन्न गरेको निर्वाचन आयोगले दोस्रो चरणमा भोलि ४५ जिल्लाको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको चुनाव गराउँदैछ । यो सम्पन्न भएसँगै संविधान कार्यान्वयनको महत्वपूर्ण कार्यभार पूरा हुनेछ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले बुधबार अपान्ह पत्रकार सम्मेलन गरी निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएका छन् । आयोगका अनुसार दोस्रो चरणमा निर्वाचन हुने प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्रमा र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका ७ हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदानको व्यवस्था गरिएको छ । त्यसैगरी, निर्वाचन सम्पन्न गर्न १ लाख ५५ हजार कर्मचारीहरू मतदान कार्य सम्पन्न गर्नका लागि खटाइ उनिहरु सबै मतदान केन्द्रमा पुगिसको आयोगले जनाएको छ । दोस्रो चरणको प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ जम्मा १ हजार ६६३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रदेशसभा सदस्यतर्फ सातै प्रदेशमा गरी जम्मा २ हजार ८१९ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् । यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका लागि २२० पदका लागि जम्मा ५ हजार ८३८ जना निर्वाचनको प्रतिस्पर्धामा छन् । भोलिको निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । बिहीबार बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म आफ्नो मतदाता नामावलीमा नाम रहेको मतदान केन्द्रमा प्रवेश गर्ने मतदाताले मात्रै मतदान गर्न पाउने स्पसट पारेको छ । कुनै पनि मतदाताले नाम ढाँटेर अर्काको नाममा मतदान गरे कानूनबमोजिम सजायको भागी हुनुपर्ने प्रमुख निर्वाचन आयुक्र डा यादवले जनाए ।

प्रमुख निर्वाचन आयुक्तले दिएको मन्तब्यको पूर्णपाठ

आदरणीय मतदाता आमा–बुबा, दिदी–बहिनी तथा दाजु–भाइहरू १. संविधानसभाबाट जारी भएको ‘नेपालको संविधान’ कार्यान्वयनको पहिलो खुड्किलाको रूपमा स्थानीय तहको निर्वाचन उल्लासमय वातावरणमा सफलताका साथ सम्पन्न भइसकेको व्यहोरा यहाँहरू सबैलाई विदितै छ । संविधान कार्यान्वयनकै क्रममा मंसिर १० गते पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन मतदाताको व्यापक सहभागितासहित शान्तिपूर्ण एवं व्यवस्थितरूपमा सम्पन्न भएको छ । २. भोलि मंसिर २१ गते बिहीबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुने दोस्रो चरणमा ४५ जिल्लाको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको अवगत गराउन चाहन्छु । दोस्रो चरणमा निर्वाचन हुने प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्रमा र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका ७ हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान हुने व्यवस्था गरिएको छ । त्यसैगरी, भोलि हुने निर्वाचनलाई सम्पन्न गर्न १ लाख ५५ हजार कर्मचारीहरू मतदान कार्य सम्पन्न गर्नका लागि खटाइसकी सबै मतदान केन्द्रमा पुगिसक्नु भएको छ । ३. दोस्रो चरणको प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ जम्मा १ हजार ६६३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ भने प्रदेशसभा सदस्यतर्फ सातै प्रदेशमा गरी जम्मा २ हजार ८१९ जना उम्मेदवारहरू चुनावी मैदानमा हुनुहुन्छ । यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका लागि २२० पदका लागि जम्मा ५ हजार ८३८ जना निर्वाचनको प्रतिस्पर्धामा हुनुहुन्छ । भोलिको निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गर्नुहुने छ । ४. अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असक्त वा विरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित व्यवस्था मिलाउन र सहज ढङ्गले मतदानको प्रबन्ध गर्न सबै मतदान अधिकृतलाई आयोग निर्देश गर्दछ । साथै दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैं मत सङ्केत गर्न नसकेमा एकाघरको परिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मत सङ्केत गर्न सक्ने व्यवस्थासमेत मिलाइएको छ । यसरी मत सङ्केत गर्दा मतदाताको इच्छाविपरीत कसैबाट पनि मतदान हुने छैन भन्ने विश्वास आयोगले लिएको छ । ५. भोलि बिहीबार बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म आफ्नो मतदाता नामावलीमा नाम रहेको मतदान केन्द्रमा प्रवेश गर्नुहुने मतदाताले मात्रै मतदान गर्न पाउनु हुने छ । कुनै पनि मतदाताले नाम ढाँटेर अर्काको नाममा मतदान नगर्नु हुन र यदि कसैले त्यस्तो गैरकानुनी कार्य गरेमा कानूनबमोजिम सजायको भागी हुनुपर्ने व्यहोरासमेत स्मरण गराउन चाहन्छु । साथै, सबै राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालालाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी असल राजनीतिक संस्कारको विकासमा योगदान पु¥याउन निर्वाचन आयोग हार्दिक अपील गर्दछ । आदरणीय मतदाता आमा–बुबा, दिदी–बिहिनी तथा दाजु–भाइहरू ६. पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि हल्का हरियो रङ्गको मसीले छापिएको मतपत्रमा रहेका चिह्नमध्ये एउटामा र प्रदेशसभाका लागि कालो मसीले छापिएका निर्वाचन चिह्नहरूमध्ये आफूलाई मनपर्ने उम्मेदवारको कुनै एक चिह्नमा स्वस्तिक छाप लगाई तोकिएका बेग्ला–बेग्लै मतपेटिकामा मत खसाल्नु हुन आग्रह गर्दछु । यसैगरी, समानुपातिकतर्फ मतदाताले आफूलाई मन परेको राजनीतिक दलकोे निर्वाचन चिह्नमा मत संकेत गर्नुपर्ने हुन्छ । त्यसका लागि हल्का रातो मसीले छापिएको मतपत्रको एउटै पानाको माथिल्लो भागमा प्रतिनिधिसभा सदस्यका लागि मतपत्र–१ रहेको छ । त्यही मतपत्रको तल्लो भागमा प्रदेशसभाका लागि मतपत्र–२ रहेको छ । ती निर्वाचन चिह्नहरूमध्ये माथिल्लो मतपत्रमा एउटा र तल्लो मतपत्रमा एउटा गरी दुईवटा चिह्नमा मत संकेत गर्नुपर्ने हुन्छ । ७. मतदान गर्न जाँदा कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेको परिचयपत्र हराएमा वा नष्ट भएमा पनि मतदाताको मताधिकारलाई आयोगले सुनिश्चित गरेको छ । मतदानका लागि नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने निर्णय आयोगले गरिसकेको व्यहोरा जानकारी गराउँदछु । ८. आयोगले अनुमति प्रदान गरेका राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले यस निर्वाचनमा पर्यवेक्षण गर्दैछन् । पर्यवेक्षकहरूबाट नेपालको कानून, निर्वाचन आचारसंहिता र पर्यवेक्षकले पालना गर्नुपर्ने आचारसंहिताको पूर्ण पालना हुने विश्वास आयोगले लिएको छ । ९ यस निर्वाचनबाट नेपालको संविधान कार्यान्वयन भई संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने र राज्यको पुनर्संरचना व्यवहारमै लागू भएर विद्यमान सङ्क्रमणकालको अन्त्य हुने छ । तसर्थ यो निर्वाचन अन्य निर्वाचनभन्दा धेरै महत्वपूर्ण भएकाले मतदानमा सहभागी भई नेपाललाई दीगो आर्थिक विकास र समृद्धिको मार्गमा लैजान आ–आफ्नोतर्फबाट योगदान पु¥याउन पनि आयोग अनुरोध गर्दछ । १०. नेपालको संविधानले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनबाट आदिवासी जनजाति, खस आर्य, थारू, दलित, मधेसी, मुस्लिम, अल्पसङ्ख्यक, अपाङ्गगता भएकाहरूलाई समावेशी समानुपातिक सिद्धान्तका आधारमा नेतृत्वमा पु¥याउने अधिकार सुनिश्चित गरेको छ । नेपालको इतिहासमा नेपाली जनताले यस्तो अवसर कहिल्यै प्राप्त गरेका थिएनन्, त्यसैले यो सुवर्ण अवसरलाई सदुपयोग गरौं र समृद्धशाली नेपाल बनाउने अग्रगामी यात्रामा समाहित हुन सबै मतदातामा आयोग हार्दिक आग्रह गर्दछ । ११. जनताको मत लोकतन्त्रको आधार भएकाले मतदाताले स्वतन्त्र र विवेकपूर्ण ढङ्गले मतदान गरेको मतलाई सुरक्षा गर्नु सबैको दायित्व हो । तसर्थ मतदान केन्द्रमा मतदाताले प्रदान गरेको मतलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयसम्म सुरक्षितरूपमा मतपेटिका पु¥याउने कार्यमा सबै राजनीतिक दल, उम्मेदवारसँग निर्वाचन आयोग सहयोगको अपेक्षा गर्दछ । १२. निर्वाचनमैत्री वातावरण बनाउन महत्वपूर्ण सहयोग पु¥याउनु हुने नेपाल सरकार, राजनीतिक दल, उम्मेदवारहरू, नागरिक समाज, मतदाता, अन्तर्राष्ट्रिय संघ संस्था, अन्तर्राष्ट्रिय र राष्ट्रिय पर्यवेक्षकलगायत सरोकारवाला सबैमा निर्वाचन आयोग धन्यवाद ज्ञापन गर्दछ । १३. देशका विभिन्न भागमा भएका छिटपुट निर्वाचनविरोधी गतिविधि र उम्मेदवार लक्षित हिंसात्मक कार्यबाट मृत्यु हुनु भएकाहरूप्रति आयोग हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना र सबै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । एकाध घटनाबाट नडराई संविधानको कार्यान्वयन र सङ्क्रमण कालको अन्त्य गर्न निर्भीकतापूर्वक मतदान गर्न मतदाताहरूमा आयोग हार्दिक अनुरोध गर्दछ । नेपाल सरकारले गरेको सुरक्षाको पूर्ण प्रत्याभूतिप्रति विश्वस्त हुँदै भोलि बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुने मतदान कार्यमा सहभागी भई सहयोग गर्न निर्वाचन आयोग आम मतदाताहरूमा पुनः हार्दिक अपिल गर्दछ । आदरणीय पत्रकारज्यूहरू, १४. अन्त्यमा आयोगको निमन्त्रणालाई स्वीकार गरी आउनु भएकोमा सबै सञ्चारकर्मीलाई आयोगको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु । निर्वाचनको संवेदनशीलतालाई मनन् गर्न र निर्वाचन एवं मतदातामैत्री सत्य, तथ्य र विश्वसनीय समाचार सामग्रीहरू सम्प्रेषण गरेर सूचना पाउने नेपाली जनताको हकको सम्मान गर्न आयोग सविनय अनुरोध गर्दछ । धन्यवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?