जेलबाटै चुनावी चलखेल

धनुषा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका राष्ट्रिय जनता पार्टी अध्यक्षमण्डल सदस्य राजेन्द्र महतो र नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिबीचको चुनावी टक्कर देशमै चर्चाको विषय बनेको छ । यो टक्करमा जित कसको हुन्छ भन्ने प्रश्नले नेपाली राजनीतिको बजार तताएको छ। आजको नागरिकमा खबर छ निधि–महतो भिडन्तमा जेलमा रहेका सञ्जय साह ‘टक्ला’ को प्रवेशले झन् रोचक बनाइदिएको छ । यो निर्वाचन क्षेत्रमा जनकपुर उपमहानगरपालिकाका २५ वडामध्ये १७ वटा, नगराइन नगरपालिका, विदेह नगरपालिकाको ९ नम्बर वडा तथा मुखियापट्टी मुसरनिया र धनौजी गाउँपालिका पर्छन् । यहाँ वैश्य समुदायको बाहुल्य छ । यो समुदायमा तेली, सुडी, कानू, कलवार, रौनियार, कसेरा, कथवनिया, सुनार, लहेरी, ठठेरीलगायत जात पर्छन् असोजमा सम्पन्न स्थानीय तह चुनावमा जनकपुर उपमहानगरपालिका मेयरमा राजपाका लालकिशोर साहले करिब ११ हजार मतान्तरमा जित हासिल गरेका थिए । यो जितमा जातीय मत निर्णायक थियो । साहको जितबाट हौसिएर महतो धनुषा ३ बाट उम्मेदवार बनेका छन् । महतोलाई मेयर साहले बल दिइरहेका छन् । वैश्य समुदायको जातीय मत विभाजन नभए यही मत यो क्षेत्रका उम्मेदवारका लागि जितको प्रमुख कारण बन्ने स्थानीय विश्लेषक बताउँछन् । वैश्य (सुडी, कलवार, तेली) समुदायको मत विभाजन गरेर महतोलाई कमजोर बनाउन विभिन्न अपराध मुद्दामा पुर्पक्षका लागि जेलमा रहेका सञ्जय साह प्रयोग भएका छन् । उनले जेलबाटै मत प्रभावित गर्ने खेल सुरु गरेका छन् साहले जेलबाटै महतोलाई मतदान नगर्न अभियान थालेका छन् । कांग्रेस उम्मेदवार निधिलाई कडा टक्कर दिइरहेका महतोलाई मतदान नगर्न भन्दै साहले सिरहा कारागारबाट ‘रेडियो अन्तर्वार्ता’ समेत दिएका छन् । उनले फोनमार्फत मतदातालाई महतोको पक्षमा मतदान नगर्न भनिरहेका छन् साहले जेलबाटै फोन गरेर सञ्चारकर्मीलाई समेत प्रभावित पारिरहेका छन् । फोन गरेर सञ्चारकर्मीलाई उनले महतोलाई सहयोग नगर्न आग्रह गरिरहेका छन् । साहले आफूलाई कारागारको नम्बरबाट फोन गरेर निर्वाचनमा महतोलाई सहयोग नगर्न आग्रह गरेको काठमाडौंकेन्द्रित भई पत्रकारिता गर्दै आएका वीरेन्द्र केएमले बताए । अन्य पत्रकारलाई समेत फोन गरी महतोको विपक्षमा लाग्न साहले भनेको उद्धृत गर्दै वीरेन्द्रले बताए । साहले वीरेन्द्रलाई महतोविरोधी गतिविधिमा सहयोग गरे जुनसुुकै सहयोग गर्न तयार रहेको समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?