सहायकस्तरको कर्मचारीबाट बैंककै ५ करोड ठगी

काठमाडौँ, १७ मङ्सिर- कृषि विकास बैंक न्युरोड शाखाकी सहायक टेलर दीपिका रेग्मी बैंकको करिब ५ करोड ठगी गरेको आरोपमा पक्राउ परेकी छिन् । विद्युतीय चेक क्लियरेन्स (इसिसी) गर्दा दोहोरो इन्ट्री गराई बैंकको करिब ४ करोड ९१ लाख आफ्नो र आफन्तको खातामा सारी ठगी गरेको आरोपमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले १३ मंसिरमा पक्राउ गरेको हो ।बैंककै कर्मचारी तथा रेग्मीका सहायक रमेशकुमार थापा र न्युरोडका एक सुनपसले प्रकाश घतानीलाई समेत उनलाई ठगी गर्न सघाएको आरोपमा सिआइबीले पक्राउ गरेको छ । उनीहरूलाई १४ मंसिरमा उच्च अदालत पाटनमा पेस गरिएको र अनुसन्धानका लागि ५ दिनको म्याद थप भएको सिआइबीका प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिए । उनीहरूलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम कारबाही हुनेछ, नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?