काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवनस्तर उकास्ने, उत्पादन बढाउने र दिगो आम्दानी सुनिश्चित गर्ने आर्थिक आधार निर्माण गर्नु मुलुकको प्राथमिक दायित्व भएको बताएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा (एमाले) को नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले नागरिकको जीवनस्तर सुधार गर्न केवल पहिचानको बहसमा सीमित नभई आम्दानीका स्रोत सिर्जना गर्ने र उत्पादनमुखी रोजगारीका अवसर बढाउनेतर्फ ध्यान दिनुपर्ने बताए । विपन्नतालाई दिगो समृद्धिमा रूपान्तरण गर्न स्पष्ट नीति र उत्पादनमुखी रोजगारी आवश्यक रहेको उनको भनाइ थियो ।
उनले राजनीतिक तथा नीतिगत बहस आम नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने दिशामा केन्द्रित हुनुपर्नेमा जोड दिए । गरिबी उन्मूलन नारामा मात्र सीमित हुन नसक्ने उल्लेख गर्दै ओलीले परिवारको आर्थिक सुरक्षा सुनिश्चित गर्न सक्ने गुणस्तरीय रोजगारी सिर्जना गर्नु राज्यको प्रमुख दायित्व भएको बताए ।
रोजगारीको वास्तविक मूल्य काम गरेको समयले नभई त्यसबाट प्राप्त हुने पर्याप्त आम्दानीले निर्धारण गर्ने उनको भनाइ थियो । कुनै एउटा वर्ग, समुदाय, पेसा वा क्षेत्रको मात्र नभई समग्र नेपाली समाजको उत्थानलाई लक्ष्य बनाउनुपर्ने उनले बताए ।
‘हाम्रो मुख्य उद्देश्य जनताको जीवनस्तर माथि उठाउनु, गरिबी हटाउनु र विपन्नतालाई समृद्धिमा रूपान्तरण गर्नु हो । यसका लागि जातीय पहिचानका आधारमा मात्र होइन, आम्दानीका स्रोत सिर्जना गर्ने, उत्पादन बढाउने र परिवारको आधारभूत आवश्यकता पूरा गर्न सक्ने रोजगारीका अवसर उपलब्ध गराउनेतर्फ ध्यान दिनुपर्छ,’ ओलीले भने ।
उनले आफ्ना राजनीतिक तथा सामाजिक मान्यताको मूल आधार मानवतावाद भएको उल्लेख गर्दै प्रत्येक नागरिकले खान, लाउन र बस्न पाउनुका साथै गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहुँच प्राप्त गर्नुपर्ने बताए ।
जात, वर्ग वा समुदायका आधारमा विभेद नगरी आम नागरिकलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्नेमा जोड दिँदै ओलीले सत्य, न्याय र समानताको मार्गबाट अघि बढ्नुपर्ने बताए ।
मानव कल्याण, समान अवसर र जनताको समृद्धिलाई केन्द्रमा राखेर नीति निर्माण गर्नु आवश्यक रहेको उल्लेख गर्दै उनले नागरिकका आधारभूत आवश्यकता पूरा गर्न सक्ने अवस्था निर्माण गर्नु राज्यको कर्तव्य भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया