घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए

लोकपथ
49
Shares

काठमाडौं । बडादशैँ मनाउन घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार ३७ हजार ९६४ वटा सवारीसाधनमार्फत उक्त सङ्ख्यामा यात्रु उपत्यकाबाट बाहिरिएका हुन् ।

दशैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका नागरिक घर फर्किन थालेपछि बसपार्क तथा प्रमुख नाकामा यात्रुको चाप बढेको छ । पछिल्ला केही दिनयता उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढ्दै गएको छ ।

उपत्यका छाड्ने यात्रुमध्ये एक लाख १५ हजार ८६ जना महिला र एक लाख ६१ हजार १६७ जना पुरुष रहेका छन् । दशैँ मनाउन घर फर्किने क्रम बढेसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चापसमेत बढिरहेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायत नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ । यात्रुको चाप बढ्दै गएपछि ती नाकामा सवारीसाधनको आवागमन व्यवस्थापनमा ट्राफिक प्रहरीले विशेष ध्यान दिएको छ ।

दशैँ, तिहारलगायत चाडपर्वका समयमा यात्रुको सुरक्षा सुनिश्चित गर्न र सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको काफ्लेले बताए ।

उनका अनुसार यात्रुको आवागमन सहज बनाउने, सवारीसाधनको चाप व्यवस्थापन गर्ने र सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडकमा निगरानी बढाइएको छ ।

‘यात्रुको सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको छ । हाम्रो उद्देश्य सबैको यात्रा सफल र सुरक्षित होस् भन्ने हो,’ उनले भने ।

चाडपर्वका बेला लामो दूरीको यात्रा गर्ने यात्रुले सवारीसाधनको अवस्था, चालकको स्वास्थ्य र सवारी चलाउने समयजस्ता विषयमा विशेष ध्यान दिनुपर्ने काफ्लेको भनाइ छ । यात्रु र चालक दुवैले सावधानी अपनाए सम्भावित दुर्घटना न्यूनीकरण गर्न सकिने उनले बताए ।

यातायात व्यवस्था विभागका अनुसार नागढुङ्गा–नौबिसे सडकखण्ड, मुग्लिन–नारायणगढ सडक, कान्ति लोकपथ र बिपी राजमार्गलगायत प्रमुख सडकमा दुवैतर्फ यातायात सञ्चालन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?