काठमाडौं । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८ घरधुरीलाई ४५ हजार रुपैयाँका दरले नगद वितरण गरिसकेको छ ।
विकास साझेदार ‘विश्व खाद्य कार्यक्रम’ (डब्लुएफपी) ले उपलब्ध गराएको नगद सहयोगलाई दोहोरोपना नपर्ने गरी एकद्वार प्रणाली अपनाई उक्त रकम वितरण गरिएको हो। स्थानीय तहसॅगको समन्वय र सहकार्यमा स्थानीय तहले पहिचान गरेका प्रभावितलाई उक्त रकम वितरणको काम भइरहेको छ ।
रसुवाका ५, नुवाकोटका ४ र धादिंगका २ गरी कुल ११ वटा स्थानीय तहका बाढी पीडित घरपरिवारलाई उक्त रकम उपलब्ध गराइएको हो ।
तथ्यांक प्रमाणीकरण गर्न बाँकी रहेका १४ सय जति घरधुरीलाई पनि तीन दिनभित्र रकम वितरण गरिसक्ने सरकारको तयारी छ ।
यहि असोज २३ गते बसेको केन्द्रसहित तीनवटै जिल्लाका मनसुन प्रतिकार्य कमाण्ड पोष्टहरुको संयुक्त बैठकले विपद् प्रभावित घरधुरी (लाभग्राही) पहिचान, प्रमाणीकरण तथा शीघ्र पुनर्लाभलाई व्यवस्थित गर्ने निर्णय गरेको थियो ।
रेडक्रस लगायत अन्य विकास साझेदारहरुले पनि नगद सहयोग गर्न चाहेकाले ‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१’ अनुसार दोहोरो नपर्ने र कोही नछुट्ने गरी सरकारले सहायता उपलब्ध गराउन स्थानीय तह तथा अन्य सम्बद्ध निकायहरुलाई निर्देशन दिइसकेको छ ।
बाढी प्रभावितहरूको दीर्घकालीन पुनर्स्थापना र व्यवस्थापनको लागि पनि तीव्ररुपमा काम भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया