काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत डा. जिज्ञानकुमार थापाको संसदीय सुनुवाईका क्रममा सांसदहरूले उनको विदेशी स्थायी आवासीय अनुमतिपत्र (पीआर), स्वार्थको द्वन्द्व तथा परिवारको हैसियतका कारण उत्पन्न हुनसक्ने कुटनीतिक जटिलतामाथि प्रश्न उठाएका छन् ।
बुधबार बसेको संसदीय सुनुवाई समितिको बैठकमा प्रस्तावित राजदूत थापाले पेश गरेको कार्ययोजनामाथि छलफल हुनुअघि नै उनको योग्यता र विगतको आवासीय स्थितिलाई लिएर सांसदहरूबीच चर्को बहस भएको हो ।
नेकपा (एमाले) का सांसद प्रेमप्रसाद दंगालले नेपालको संविधानको धारा २९१ को व्यवस्था स्मरण गराए ।
उक्त धाराअनुसार विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको व्यक्ति कुनैपनि संवैधानिक वा कूटनीतिक नियुक्तिमा अयोग्य हुने तर पीआर त्यागेको कम्तीमा तीन महिना व्यतीत भएपछि मात्र नियुक्तिका लागि बाधा नपर्ने संवैधानिक सीमाबारे उनले प्रष्ट पारे ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले थापाले गत २५ मार्च २०२४ मा टोकियो विमानस्थलको अध्यागमनमा पीआर त्यागेको घोषणा गरेको र सरकारले २२ जेठ २०८१ (५ जुन २०२४) मा प्रक्रिया अघि बढाएकाले तीन महिनाको समयावधि बल्लतल्ल पुगेकोतर्फ ध्यानाकर्षण गराए ।
करिव २५ वर्ष जापानमा बिताएका थापाको त्यहाँ व्यक्तिगत व्यवसाय, सम्पत्ति, शेयर तथा वित्तीय दायित्व हुनसक्ने उल्लेख गर्दै सांसद विष्टले भने, ‘राजदूतका रूपमा काम गर्दा व्यक्तिगत स्वार्थ र राष्ट्रिय हित बाझिने अवस्था आउनुहुँदैन । कार्यकाल सकिएपछि तपाईं स्वदेशमै फर्किनुहुन्छ कि फेरि जापान नै बस्नुहुन्छ, त्यसको स्पष्ट आधार के छ ?’
नेकपा सांसद वर्षमान पुनले परिवारका सदस्यहरूको विदेशी हैसियतका कारण भविष्यमा जापान सरकारबाट ‘एग्रिमो’ आउन समस्या हुनसक्ने आशंका व्यक्त गरे ।
विगतमा भारतका लागि प्रस्तावित राजदूत राम कार्कीको श्रीमती आसाम सरकारको कर्मचारी भएका कारण एग्रिमो नआएको नजिर स्मरण गराउँदै पुनले कुटनीतिक मर्यादामा आँच आउन नदिन सचेत गराए ।
पुनले राज्यका अवसर पाउनासाथ हतारहतार पीआर त्याग्ने र पछि फेरि विदेशकै बाटो समात्ने प्रवृत्ति राष्ट्रहितविपरित भएको टिप्पणी गर्दै राजदुतजस्तो जिम्मेवार पदमा व्यक्तिगत लाभभन्दा मुलुकप्रतिको निष्ठा प्राथमिक हुनुपर्नेमा जोड दिए ।
यता जापानका लागि नेपालका प्रस्तावित राजदूत थापाले आफूमाथि लागेका पिआर (स्थायी आवासीय अनुमति) र स्वार्थ बाझिने (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) लगायतका आरोपहरूको खण्डन गरे ।
थापाले आफूले जापानको पीआर त्यागेर नेपालको राष्ट्रिय हितमा काम गर्ने उद्देश्यका साथ अगाडि बढेको दाबी समेत गरेका छन् ।
संसदीय समितिको बैठकमा थापाले जापानमा आफू र आफ्नो परिवारको हैसियतबारे उठाइएका प्रश्नहरूको विस्तृत जवाफ दिए ।
उनले जापानस्थित नेपाली राजदूतावासले त्यहाँको अध्यागमन विभागमार्फत आफ्नो पिआर त्यागेको लिखित जानकारी परराष्ट्र मन्त्रालयलाई पठाइसकेको स्पष्ट पारे ।
आफ्नो पारिवारिक अवस्थाबारे बोल्दै उनले आफू र परिवार कानूनी र भावनात्मक रूपमा नेपालसँगै जोडिएको दाबी गरे ।
उनले भने, ‘मेरो श्रीमती र छोराछोरीको त्यहाँको बसाइ भिसाको एक प्रकार मात्र हो, उनीहरू नेपाली नागरिक नै हुन् । म कुनैपनि स्वार्थ बाझिने काम गर्दिनँ । मेरो उद्देश्य दुई देशको सम्बन्धलाई थप बलियो बनाउने र नेपालको विकासमा जापानको सहयोग बढाउने हो ।’
जापानमा आफ्नो स्वामित्वमा रहेको घरबारे उठाइएका प्रश्नमा थापाले सो घर कानूनी रूपमा श्रीमतीको नाममा रहेको र आफ्नो कुनै व्यवसायिक स्वार्थ नरहेको स्पष्ट पारे ।
थापाले दुई देशबीचको कुटनीतिक सम्बन्ध सुधार गर्न आफ्नो लामो अनुभव र जापानसँगको पहुँच फलदायी हुने विश्वास व्यक्त गरे । उनले कुटनीतिक मर्यादाभित्र रहेर आफूले जापानमा रहँदा पनि नेपालको हितमा निरन्तर काम गरेको उल्लेख गर्दै यदि अनुमोदन भएमा राष्ट्रको सर्वोपरी हितलाई नै केन्द्रमा राखेर काम गर्ने प्रतिवद्धता जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया