दशैँ मनाउन गाउँ फर्किने बढे, २४ घण्टामा ७८ हजार यात्रु उपत्यकाबाट बाहिरिए

लोकपथ
7
Shares

काठमाडौं । नेपालीको महान् पर्व बडादशैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा राजधानीमा बसोबास गर्दै आएका मानिस दशैँ मनाउन धमाधम गाउँ फर्किन थालेका हुन् ।

काठमाडौं उपत्यकाका विभिन्न नाकाबाट देशका विभिन्न जिल्लातर्फ जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन घर फर्किने यात्रुको सङ्ख्या बढ्दै गएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार मंगलबार बिहानदेखि बुधबार बिहानसम्मको २४ घण्टामा ७८ हजार १३८ यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।

घटस्थापना सुरु भएयता सार्वजनिक सवारीसाधनमार्फत एक लाख ८७ हजार ७७४ यात्रु उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ । असोज २५ गते ५२ हजार ८२७ र असोज २६ गते ५६ हजार ८०९ यात्रु उपत्यकाबाट बाहिरिएका थिए ।

दशैँ मनाउन यात्रुहरू फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै बाहिरिएका छन् ।

घर फर्किने यात्रुको चाप बढेसँगै यातायात व्यवसायीलाई सवारीसाधन व्यवस्थापन गर्न समस्या भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कोषाध्यक्ष एवं नेपाल माइक्रोबस कम्पनीका अध्यक्ष राजेन्द्र आचार्यले सडकको अवस्थाका कारण यातायात व्यवस्थापनमा कठिनाइ भइरहेको बताए ।

‘दशैँको मुखमा विभिन्न राष्ट्रिय राजमार्ग बिग्रिँदा सवारीसाधन समयमा गन्तव्यमा पुग्न तथा काठमाडौं आउन समस्या हुँदा सवारीसाधन व्यवस्थापनमा समस्या परेको छ,’ उनले भने ।

असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला भएकै दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएर सवारी आवागमन अवरुद्ध भएको थियो । त्यसका कारण धेरै सवारीसाधन काठमाडौंमै रोकिँदा यातायात व्यवस्थापनमा थप समस्या भएको आचार्यले बताए ।

हालसम्म दशैँका लागि एक लाख ३० हजार १२९ यात्रुले अग्रिम टिकट बुकिङ गरिसकेका छन् । ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २३ गते २१ हजार ३००, असोज २४ र २५ गते गरी ७६ हजार ७९, असोज २६ गते १७ हजार १९७ र असोज २७ गते १५ हजार ५५३ यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन् ।

यात्रुको चाप बढिरहेका बेला यातायात व्यवसायी महासङ्घले टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर यात्रा गर्न यात्रुलाई आग्रह गरेको छ ।

दशैँमा परिवार, आफन्त र समुदायसँग भेटघाट गरी खुसी साटासाट गर्ने परम्परा रहेकाले रोजगारी तथा अध्ययनका लागि राजधानीमा बस्दै आएका मानिस हरेक वर्ष चाडपर्व मनाउन आफ्नो घर फर्किने गर्छन् । यस वर्ष पनि दशैँ नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?